एजेन्सी – सोमबार भएको पहिलो खेलमा स्पेनले क्रोएसियालाई ५– ३ ले हराउँदै युरो कपको क्वाटफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल ३–३को बराबरीमा रोकिदा खेल अतिरिक्त समयमा धकेलिएको थियो । कोपनहेगनस्थित पार्केन रंगशालामा स्पेनले अतिरिक्त समयमा अरु थप २ गोल गर्दै जित निालेको हो ।

पहिलो हाफमा स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । तर क्रोएसियाले जब स्पेनका किपरको अन गोलमा अग्रता लियो खेल रोमान्चक मोडमा प्रवेश गरेको थियो । यद्दपि पहिलो हाफको अन्त्यतिर गोल गर्दै स्पेन खेलमा फर्कियो ।

दोस्रो हाफमा स्पेनले आफ्नो आक्रमणलाई कायमै राख्यो । अग्रता लिएपछि क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि स्पेनको डिफेन्सले बलियो प्रदर्शनका साथ खेलमा अग्रता कायम राख्यो । दोस्रो हाफमा २ गोल गर्दै स्पेन सहज जिततर्फ अघि बढेको थियो । तर, अन्त्यतिर दुई गोल गर्दै खेल क्रोएसियाले खेल अतिरिक्त समयमा धकेलेको थियो । अतिरिक्त समयको पहिलो हाफमा स्पेनले दुई गोल गर्दै जित पक्का गरेको थियो ।

पछिल्ला आठ वर्ष स्पेन निक्कै नै सुस्ताएको देखिन्थ्यो । युरो २०१२ को उपाधि जितेपछि स्पेन कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको यो पहिलो पटक हो । यसअघिका विश्वकपको दुई संस्करण र युरो २०१६ मा स्पेनले अन्तिम ८ को यात्रा गर्न सकेको थिएन । अहिलेको स्पेन पुरानै लयमा फर्किएको आकलंन गर्न सकिन्छ । 

क्रोएसियासँगको खेलको नवौं मिनेटमा कोकेको फ्रिकिकमा सेजार एज्पिलीक्वेटाको हेडरलाई गोलरक्षक लिभाकोभिचले सहजै बचाए । १३ औं मिनेटमा अल्भारो मोराटाको पासमा पाब्लो सराबियाको प्रहार बाहिरिंदा स्पेन अग्रता लिनबाट चुक्यो ।

यत्तिकैमा खेलको २० औं मिनेटमा क्रोएसियाले अप्रत्याशित रुपमा अग्रता लियो । स्पेनका मिडफिल्डर पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो । बुस्केट्सको लामो पास गोलरक्षक सिमोनको ठिक अगाडी झर्दा उनको बल रोक्ने प्रयास खुट्टालाई छुँदै पोस्टमा छिरेको थियो । युरोको यस संस्करणमा यो नवौं ‘अन गोल’ गोल थियो ।

आफ्नै पोस्टमा गोल गर्नभन्दा केहि अघि मात्र स्पेनले गोल गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । मिडफिल्डर पेड्रीले दिएको पासमा कोकेको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई गोलरक्षक लिभाकोभिचले सुन्दर बचाउ गरेका थिए ।

अग्रता लिएपछि उच्च मनोबलमा देखिएको क्रोएसियाले थप दुई अवसर सिर्जना गरेको थियो । २५ औं मिनेटमा निकोला भ्लासिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो । त्यसको एक मिनेटपछि नै माटियो कोभाचिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

३८ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए । जोसे गायाको सुरुवाती प्रहारलाई गोलरक्षक लिभाकोभिचले विफल पारेपनि रिबाउन्डमा आएको बल सराबीयाले प्रहार गरेका थिए । 

दोस्रो हाफमा स्पेनले आफ्नो स्वभाविक लयमा फर्किसकेको थियो । क्रोएसिया दबाबमा परेको देखिन्थ्यो । ५७ औं मिनेटमा सेजार एज्पिलीक्वेटाले गोल गर्दै स्पेनलाई खेलमा पहिलो पटक अग्रता दिलाए । फेरान टोरेसको क्रसमा एज्पिलीक्वेटाले हेडरमार्फत गोल गर्दै आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

त्यसैगरि, ६६ औं मिनेटमा आन्टे रेबिचको प्रहारलाई गोलरक्षक सिमोनले सानदार बचाउ गरेका थिए । ७२ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पारेपनि भीएआरले गोललाई मान्यता दिएन । मोराटाले सहज गोल गरेपनि उनी बल आउनुअघि नै गोललाइन नजिक रहेकाले भीएआरले अफसाइडको निर्णय दिएको थियो ।

खेलको ७७ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पार्यो । फेरान टोरेसले गोल गर्दै स्पेनलाई जिततर्फ डोहोर्याएका थिए । उनले पाउ टोरेसको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै गोलरक्षक लिभाकोभिचलाई बिट गरेका थिए । ८४ औं मिनेटमा वैकल्पिक खेलाडी ड्यानी ओल्मोको प्रहारलाई भने गोलरक्षकले बचाएका थिए ।

८५ औं मिनेटमा क्रोएसियाले गोल गर्दै खेलमा फर्कने संकेत दियो । ६ यार्ड बक्सभित्र लगातार एकपछि अर्को प्रहार गरेको क्रोएसियाको प्रहार स्पेनिस डिफेन्सले क्लिअर गर्न सफल रहेको थियो । तर भिडियो असिस्टेन्ट रेफ्रीले मिस्लाभ ओर्सिचको प्रहारलाई एज्पिलीक्वेटाले पोस्टभित्र छिरेर रोकेपछि गोलको मान्यता दिएका थिए ।

खेलले नाटकिय स्वरुप त्यतिबेला लियो जतिबेला इन्ज्युरी समयको दोस्रो मिनेटमा क्रोएसियाको लागि मारिओ पासलीचले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले मिस्लाभ ओर्सिचको क्रसलाई हेडरमार्फत गोल गर्दै स्पेनी समर्थकलाई निराश बनाएका थिए । पासलीचको हेडरलाई गोलरक्षक सिमोनले बचाउने कुनै अवसर नै पाएका थिएनन् । निर्धारित ९० मिनेटमा ३–३ को बराबरीसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको दोस्रो मिनेटमा ओर्सिचले क्रोएसियालाई अघि बढाउने अवसर गुमाए । उनले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार पोस्टभन्दा थोरैले माथि गएको थियो । ९६ औं मिनेटमा सिमोनले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखे । 



अन्ततः खेलको १ सयौं मिनेटमा मोराटाले सुन्दर गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए । ड्यानी ओल्मोले दायाँ विंगबाट दिएको क्रस डिफेन्डरले भेट्न नसक्दा मोराटाले पहिलो टचमा बललाई नियन्त्रणमा राख्दै हाफ भलीमा सुन्दर गोल गरे । 

अग्रता लिएको तीन मिनेटपछि नै स्पेनका मिकेल ओयाराज्बालले पेनाल्टी क्षेत्रभित्र बाट गोल गर्दै ५–३ को नतिजा निकाले । १ सय १५ औं मिनेटमा मोराटाले अग्रता बढाउने अवसर पाएका थिए । उनले वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई गोलरक्षक लिभाकोभिचले बचाएका थिए । अन्तिम मिनेटमा ओल्मोको प्रहार पोस्टमा लागेर फर्कंदा स्पेन अग्रता बढाउनबाट चुकेको थियो । आफ्नो स्वाभाविक लयमा फर्किसकेको स्पेनले अब क्वाटरफाइनलमा स्विजरल्याण्डको सामना गर्नेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...