तर एउटा सफल फुटबलरको नाममा उनले मोजमस्तीको जीवन जिउन पाएका थिए । फुटबलबाट उनको चाहेको पनि यत्ति नै थियो ।
फुटबल संसारकै लोकप्रिय खेल हो । त्यसमा पनि फरवार्ड अझ स्ट्राइकरको भूमिका मात्रै होइन, प्रशिद्धि र पारिश्रमिक पनि अन्य पोजिसनका खेलाडीभन्दा विशेष हुने गर्छ । स्ट्राइकरको मुख्य भूमिका भनेको गोल गर्नु हो । जसकै गोलले खेल र उपाधि जिताउने गर्छ । यदि स्ट्राइकरले गोल गर्दैन भने क्लबले त्यसलाई उक्त भूमिकाको लागि नालायक सम्झन्छ र बेच्ने या पन्साउने गर्छ । राष्ट्रिय टिमले पनि त्यस्ताको विकल्पमा अर्को स्ट्राइकर खोज्छ ।
तर फुटबल जगतमा त्यस्ता धेरै अपवाद पनि छन् जुन पत्याउनै हम्मे–हम्मे पर्छ । त्यस्तै अपवाद हुन् स्ट्राइकर कार्लोस हेन्रिक राम्पोसो । कार्लोस कैसरका नामबाट पनि चिनिने यि कथित महान खेलाडीले एकै गोल नगरिकन ७०, ८० र ९० को दशकमा २६ वर्षसम्म ९ फरक–फरक क्लबबाट स्ट्राइकरको भूमिकामा व्यावसायिक फुटबल खेलिरहे ।
फुटबल छुनै डराउने यी ब्राजिलियनले आफू महान खेलाडी भएको ढोंग पिटिरहे, पटक–पटक घाइते भएको नौटङ्गी गरिरहे र दक्षिण अमेरिका, युरोप तथा अमेरिकाका क्लबहरूलाई नै झुक्याउँदै २६–२६ वर्षसम्म खेलाडीका रूपमा तलब खाइरहे । तर यसको लागि यिनले सानो तिगडम भने अपनाउनु परेको थिएन ।
कतिसम्म भने फुटबल छुँदै नछोइकन स्टेडियममा उनको नाम लिएर समर्थकहरू चिच्याउँथे । फेक समाचार, भिडियो र अफवाह सिर्जेर नै उनले यस्तो भ्रम सिर्जन गरेका थिए कि मानौं उनी एकदमै महान फुटबलर थिए । जसले गर्दा क्लबहरू समेत विश्वस्त बनेका थिए ।
त्यतिमात्रै होइन, राम्पोसोले कतिपय पत्रकारहरूलाई पनि प्रभावमा पारेका थिए, तिनले उनका बारेमा थप अफवाह फैलाउँदै लेखिदिन्थे । कार्लोस अनुबन्धित मेक्सिकन क्लब प्युब्लामा उनी रहँदा कार्लोसलाई मेक्सिकोले त्यहाँको नागरिकता र राष्ट्रिय टोलीबाट फुटबल खेल्ने अफर आयो भनेर पत्रिकाले लेखिदिएका थिए ।
ब्राजिल फर्केपछि कार्लोसले कार्लोस अल्ब्रेटो टोरेस, रिकार्डो रोसा तथा रेनाटो गुचो जस्ता तत्कालीन फुटबलर हस्तीसँग उनले दोस्ती बनाएका थिए । रिपोर्टका अनुसार, नयाँ क्लबमा राम्रोसँग अनुबन्धन हुन राम्रो सिफारिसको लागि उनले यो सब नाटक गरेका थिए ।
मोबाइल फोन त्यतिबेला सर्वसुलभ थिएन । तर कार्लोसले यसको पनि दुरुपयोग गर्न भ्याएका थिए । मोबाइल फोनबाट कार्लोसले अन्य भाषाबाट पटक–पटक फेक अफरलाई लत्याएको नौटङ्गी समेत गरेर अरूलाई झुक्याइदिन्थे । यति गरेपछि अरूलाई भ्रम पथ्र्यो कि कार्लोसको माग ठूल–ठूला क्लबहरूमा भइरहेको छ ।
त्यसो त कार्लोस छोटो समयको लागि मात्रै क्लबमा अनुबन्धित हुन्थे ता कि उनको झुट क्लबले थाहा नै नपाओस् । उनी क्लबको अभ्यासमा भाग लिन्थे । तर जब खेल वा टुर्नामेन्ट सुरु हुन्थ्यो उनी भाइते भएको अभिनय गर्थे र थन्किन्थे ।
१९८६ मा कार्लोस युरोप आए, र दोस्रो डिभिजनको फ्रेन्च क्लव गाजेलेक आजासियोमा अनुबन्धित भए । क्लबले उनको स्वागतमा समर्थकहरूसँगै अभ्यासको कार्यक्रम राख्यो । यिनले सबै बल समर्थकतिर फालिदिए र क्लबको ब्याज चुम्दै आफूलाई जोगाए ।
त्यसपछि उनी फेरि ब्राजिल फर्के र बाङ्गु क्लवमा अनुबन्धित भए । त्यहाँपनि फेरि उनले घाइते भएको अभिनय गरे । यति हुँदा–हुँदै पनि क्लबका प्रायोजक कास्टर डि एन्ड्रेडले जसरी पनि कार्लोसलाई खेलाउन दबाव दिए । किनकी यिनलाई कार्लोसको पाराले चिन्तित बनाएको थियो । जब खेलमा बाङ्गु २–० ले पछि परेको थियो कास्टरले कार्लोसलाई खेल्न लगाए ।
अब चैँ कार्लोससँग केही उपाय बाकीँ थिएन । पोल खोलिने पूर्ण सम्भावना थियो । त्यसैले खेलमा छिर्न वार्मअप गर्दा–गर्दै कार्लोस हुटिङ्ग गरिरहेका समर्थकसँग जाइलाग्छन् । त्यति भएपछि उनलाई मैदानमा पठाइँदैन र उनी बच्छन् । दर्शकले आफूलाई बुवाको नाम लिएर गाली गरेकोले त्यस्तो हुन पुगेको स्पष्टीकरण कार्लोसले क्लबलाई दिन्छन् । र, उन्मुक्ति पाउँछन् । उनको नवीकरण पनि अरू ६ महिनालाई लम्बिन्छ ।
उनको अन्तिम व्यासायिक क्लब भास्को डि गामा थियो । आफ्नो फेक फुटबलरको २६ वर्षे करियरमा उनी प्युब्ला, फ्लेमिङ्गो, गाजेलेक आजासियो, बाङ्गु, फ्लसमिनिस, एल पासो सिक्स सुटरस् अमेरिका जस्ता क्लबहरूमा अनुबन्धित भएका थिए ।
फुटबल छुनै डराउने कार्लोसले आफू महान खेलाडी भएको ढोंग पिटिरहे, पटक–पटक घाइते भएको नौटङ्गी गरिरहे र दक्षिण अमेरिका, युरोप तथा अमेरिकाका क्लबहरूलाई नै झुक्याउँदै २६–२६ वर्षसम्म खेलाडीका रूपमा तलब खाइरहे ।
कार्लोस हेन्रिक राम्पोसोलाई फुटबलको अथाह ग्ल्यामरप्रति ठूलो लोभ थियो । तर उनलाई फुटबल खेल्न आउन्न थियो। यही प्रशिद्धिबाट लोभिएर दुनियाँको आखाँमा छारो हाल्दै उनी २६ वर्ष व्यावसायिक फुटबलर बनेका थिए । तर, खासमा उनीले कहिल्यै कुनै खेल भने खेलेनन् । तर एउटा सफल फुटबलरको नाममा उनले मोजमस्तीको जीवन जिउन पाएका थिए । फुटबलबाट उनको चाहेको पनि यत्ति नै थियो ।
सन् २०१५मा युकेको नोड्स एण्ड भलिज इन्टरनेनमेन्ट कम्पनीले ‘कैसरः द ग्रेटेस्ट फुटबलर नेभर टु प्ले फुटबल’ नामको कार्लोसको जीवनीमा आधारित फिल्म नै बनायो । सन् २०१८ मा ट्रिबेका फिल्म फेस्टिभलमा प्रदर्शित उक्त फिल्ममा कार्लोस अल्ब्रेटो टोरेस, जिको, बेबेटो, रिकार्डो रोचा तथा रेनाटो गुचो जस्ता हस्तीहरू पनि समेटिएका छन् । त्यसैगरी, पत्रकार रब स्मिथले यही नामो पुस्तकमा कैसरको जीवनी लेखेका छन् । जुन २०१८ मा प्रकाशित भएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...