एजेन्सी - कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकाल्दै शीर्षस्थानमा उक्लेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले अर्को उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो।
ब्रासिलियामा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
खेलको आठौं मिनेटमा कप्तान लियोनेल मेस्सीले १८ यार्ड बक्सबाट गरेको प्रहारलाई उरुग्वेको गोलरक्षक फर्नान्डो मुस्लेराले डाइभ दिँदै बचाएका थिए ।
त्यस्तै १३औं मिनेटमा रोड्रिगो डि पउलको छोटो कर्नर किकमा मेस्सीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई रोड्रिग्वेजले गरेको हेडर फार पोस्टको बारमा लाग्दै गोलमा परिणत भएको थियो । यही गोलमा अर्जेन्टिनाले १–० को अग्रता लियो ।
गुइडो रोड्रिग्वेजको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । २७ वर्षीय रोड्रिग्वेजले अर्जेन्टिनाका लागि २०१७ देखि ११ खेल खेलेका छन् ।
त्यसैगरी, २५औं मिनेटमा उरुग्वेका लुइस सुआरेजको क्रसमा इडिन्सन काभानीले नभेट्दै अर्जेन्टिनी गोलरक्षक इमिलियनो मार्टिनेजले खतरा टार्दै अग्रता जोगाएका थिए । ५०औं मिनेटमा फेडे भाल्भेर्डेको क्रसलाई डे ला क्रुजले भेट्न नसकेको बललाई इमिलियानो मार्टिनेजले बचाउँदा उरुग्वे फेरी बराबरी गर्नबाट चुकेको थियो । ७५औं मिनेटमा सुआरेजको पेनाल्टी बक्सबाहिरबाट ओभरहेड किकको प्रहार पनि पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
पछिल्ला चार खेलमा अर्जेन्टिनाको यो पहिलो जित हो । पेरुलाई २–० ले हराएपछि अर्जेन्टिनाले चिलीसँग दुईपटक १–१ तथा कोलम्वियासँग २–२ गोलको बराबरी खेलेको थियो । उरुग्वेले भने पछिल्लो चार खेलमा जित निकाल्न सकेको छैन । ब्राजिलसँग २–० ले पराजित भएपछि उरुग्वेले पाराग्वे र भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो ।
जितपछि अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समुह चरणको यस अघिको खेलमा उसले चिलीसँग अंक बाँडेको थियो । समान ४ अंक भएपनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ । पाराग्वे ३ अंहसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौ स्थानमा रहेको छ ।
शनिबार बिहान नै चिलीले बोलिभियालाई १–० ले पराजित गर्दै कोपा अमेरिका कपमा पहिलो जित निकालेको छ । चिलीले पहिलो खेलमा अर्जेन्टिनासँग १–१ गोलको बराबरी खेलेको थियो । बोलिभियाको यो लगातार दोस्रो हार हो । यसअघि बोलिभिया पाराग्वेसँग ३–१ ले पराजित भएको थियो ।
एरिना पान्टानल कुइवा, मान्टो ग्रासो ब्राजिलमा भएको खेलमा चिलीको जितमा पहिलो हाफमा बिन ब्रेरेटनले गरेको गोल नै निर्णायक बन्यो । खेलको १०औं मिनेटमा बिन ब्रेरेटनले गोल गर्दै चिलीलाई १–० को अग्रता दिलाए । उनले इडुआर्डो भार्गासको पासमा गोल गरेका थिए ।
समूह चरणको तेस्रो खेलमा अब अर्जेन्टिनाले २२ जुनमा पाराग्वेसँग तथा उरुग्वेले सोही दिन नै चिलीसँग खेल्नेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...