एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लब छाड्ने भएका छन् । रियलले बुधबार विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने औपचारिक रूपमा घोषणा गरेको हो भने रामोसलाई बिदाइ लागि गर्न बिहीबार अध्यक्ष फ्लोरेन्टिनो पेरेजको समेत सहभागीतामा एक कार्यक्रम आयोजना गर्न लागिएको छ ।
हुन त रामोस र रियलबीच सम्झौता नविकरणबारे लामो समयदेखि छलफल चलेको थियो । तर यस विषयमा सहमति भने हुन सकेन । रियलले रामोसलाई एक सिजनको लागि सम्झौता दिएपनि रामोसले भने २ सिजनको सम्झौता माग गरेका थिए ।
स्पेनिस संचारमाध्यमका अनुसार पनि नवनियुक्त प्रशिक्षक कार्लो एन्चेलोटिले पनि रामोसलाई रियलमै रहन आग्रह गरेका थिए । तर रामोसले नयाँ चुनौतीका लागि आफू तयार रहेको बताउँदै क्लब छोड्ने नै निर्णय लिएका थिए । आफ्नो मागअनुसार क्लबले सम्झौता नदिने भएपछि रामोसले अन्यत्र नै आफ्नो भविष्य देखेका हुन् । त्यसो त चोटका कारण रामोसले गत सिजन धेरै खेल गुमाएका थिए ।
रामोसले रियल म्याड्रिडमा १६ वर्ष बिताएका थिए । यसबीच उनले धेरै उपलव्धिहरु सहित क्लबको इतिहासकै एक महान खेलाडीको रुपमा आफूलाई स्थापित गर्न सफल भए । उनले रियल म्याड्रिडका लागि १६ सिजनमा ६ सय ७१ खेल खेल्दै १ सय १ गोल गरेका थिए । एक डिफेन्डरले यत्ति गोल गर्नु कुनै चानचुने विषय होइन ।
उनको योगदान त उचालेका उपाधिको संख्याले नै बताइदिन्छ । उनले ५ पटक ला लिगा, ४ पटक च्याम्पियन्स लिग, २ पटक कोपा डेल रे, ४ पटक स्पेनिस सुपर कप, ३ पटक यूईएफए सुपर कप तथा ४ पटक क्लब विश्वकप जिते । तर स्पेनिस राष्ट्रिय टोलीको कप्तान समेत रहँदै आएका रामोस चोटका कारण पछिल्लो पटक युरोको टोलीमा पनि पर्न सकेका थिएनन् ।
१६ वर्ष अघि २००५मा जब फ्लोरेन्टिनो पेरेज रियलका अध्यक्ष भए, पहिलो स्पेनिस खेलाडीको रूपमा उनले रामोसलाई भित्रियाएका थिए । २७ मिलियन युरोमा उनले सेभिल्लाबाट रियल म्याड्रिडको यात्रा तय गरेका थिए । त्यसपछि आधुनिक रियलको प्रमुख खम्बाको रुपमा उनी स्थापित भएका थिए । रियलमा ‘गालाक्टिको युग’ लगायत जोजे मोरिन्होको बर्खास्तीसम्म देखेका रामोसले २०१४ देखि २०१८ सम्ममा चार–चार पटक त युरोपियन च्याम्पियन्स लिग नै उठाएका थिए ।
रियलको लागि रामोसले ६७१ खेल खेलेका छन् । यस अघि रियलको लागि यसभन्दा बढी खेल राहुल गोन्जालेज, इकार कासिलास र मानोलो सान्चिसले खेलेका थिए । पछिल्लो समय चोट, बढ्दो उमेर तथा अध्यक्ष पेरेजसँगको बढ्दो संवादहिनताका बावजुद, रामोसको रियल बसाई एकदमै सुन्दर मात्रै रहेन क्लब इतिहासमै रामोस युगको रुपमा पनि परिभाषित भयो । आज रियलको रामोस युग समाप्त भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...