काठमाडौँ- विशाल लक्ष्य पछ्याएको नेपाल श्रीलंकासंग ६० रनले पराजित हुँदै एसीसी यु-१९ एसिया कपबाट बाहिरिएको छ ।
आइतबार भएको दोस्रो खेलमा समेत श्रीलंकासंग पराजित भएपछि नेपाल समूह बी बाट सेमिफाइनल पुग्न वञ्चित भएको हो । ३२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा अल आउट हुँदै २६२ रनमा समेटियो ।
नेपालका लागि विकेट किपर समेत रहेका ब्याटर अर्जुन साउदले सर्वाधिक ६४ रनको अर्धसतकीय इनिङ्स खेले । विवेक यादवले ४६ रन बनाउँदा बसिर अहमदले ४३ रनको योगदान दिए । यस्तै सन्तोष कार्कीले ३४ र कप्तान देव खनालले २८ रन बनाए ।
श्रीलंकाका मथिशा पथिराना र रभीन डी सिल्भाले समान ३/३ विकेट लिए ।
यश अघि युएईको सारजाहमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सदिश राजापाक्ष र चामिन्दु बिक्रमसिंघेको शतक मद्दतमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको हो ।
श्रीलंकाका सदिश राजापाक्षले सर्वाधिक १३१ रन बनाए । यस्तै चामिन्दु विक्रमसिंघेले १११ रनको योगदान दिए ।
नेपालका मोहम्मद आदिल खानले दुई तथा कप्तान देव खनालले एक विकेट लिए । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल हारसँगै एक खेल अघिनै प्रतियोगिताबाट बाहिरिएको हो । अब नेपालले अन्तिम खेलमा कुवेतको सामना गर्नेछ ।
नेपाली टिम
देव खनाल (कप्तान), अरुज साउद (विकेट किपर), बसन्त कार्की, बसिर अहमद, विवेककुमार यादव, गुल्शनकुमार झा, शेर मल्ल, तिलक राजभण्डारी, मोहमद आदिल अलाम, सन्तोष कार्की, विवेक मगर
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...