धनकुटा- धनकुटामा शनिबारदेखि जिल्ला स्तरीय वाइ वाइ डाइनामाइट ए डिभिजन सुपर लिग तथा बी डिभिजन नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता आगामी ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मुल नाराका सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिताले युवाको प्रतिभाको संरक्षण हुने बताए । उनले फुटबलको विकासको लागि नगरपालिकाले काम गरिरहेको बताए ।
ए डिभीजन सुपर लिगमा छ टीमको सहभागिता रहेको छ भने बी डिभिजन नकआउट फुटबल प्रतियोगितामा १० को सहभागिता रहेको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए । धनकुटा फुटबल संघमा १७ टीम आवद्ध रहेकोमा बी डिभिजनमा रहेका भेडेटारको पाथिभरा युवा क्लव सहभागि नभएको राईले जानकारी दिए ।
प्रतियोगितामा ए डिभिजन सुपर लिगको विजेताले ४० हजार र उप विजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन भने बी डिभिजन नकआउट फुटबल प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता ए डिभिजन सुपर लिगमा बढुवा हुने छ भने ए डिभिजन सुपर लिगको अन्तिम हुने टीममा बी डिभिजनमा घटुवा हुने धनकुटा फुटबल संघका महासचिव गोपाल लिम्बूले जानकारी दिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...