साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ । बंगलादेशको  ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले घरेलु टिमसँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलमा नेपालले पाएको केही मौकालाई सदुपयोग गर्न सकेन । बंगलादेशले पनि पाएको मौकालाई खेर फालेको थियो । गोलरक्षक अञ्जना राना मगरको कप्तानीमा रहेको नेपाल पूरा समय आफ्नो बक्स वरिपरि नै रह्यो । सुधारिएको खेल प्रदर्शन गरेको बंगलादेशले नेपाललाई खेलमा पूर्ण रूपमा दबाबमा राखे पनि गोल भने गर्न सकेन ।

बराबरीसँगै नेपालले पहिलो खेलमा १ अंक जोडेको छ । बंगलादेशले पनि पहिलो खेलमा १ अंक जोडेको छ । च्याम्पियनसिपको पहिलो खेलमा भने भुटानले श्रीलंकालाई ५–० ले हराएको छ ।

 नेपालले दोस्रो खेल बुधबार श्रीलंकाविरुद्ध खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । 

शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ । यस अघि सन् २०१८ मा भुटानमा भएको यू–१८ साफमा नेपाल फाइनल खेलमा बंगलादेशसँग १–० अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...