काठमाडौँ -साबिक विजेता मछिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० को नतिजामा पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको खेलमा २–० को सहज जितसँगै मछिन्द्रले गोलअन्तरमा शीर्ष स्थान हासिल गरेको हो ।
शनिबारको खेलमा शेर्पाको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको मछिन्द्रले सेटपिसमा पर्याप्त गोलका स्पष्ट मौका बनाएको थियो । आक्रामक शैलीमा मैदानमा उत्रिएको मछिन्द्रले २९औं मिनेटमा सुनिल बलको गोलबाट अग्रता लिएको थियो । नुरेन करिमले करिब ४० यार्डबाट प्रहार गरेको फ्रि–किकमा पेनाल्टी एरिया भित्र रन बनाएर सुनिलले सहज फिनिस गरेका थिए ।
पहिलो हाफमा १–० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा पनि शेर्पामाथिको दबाब कायमै राखेको थियो । मछिन्द्रका मिडफिल्डर विशाल राईले ६८औं मिनेटमा दायाँतर्फबाट प्रहार गरेका कर्नर शेर्पाका सुरेश कुमालले क्लियर गर्न सकेनन् । सोही मौकाको फाइदा उठाउँदै मछिन्द्रका अजरबैजानी फरवार्ड नुर्लान नोब्रुजोभले पेनाल्टी एरिया भित्रबाट गोल गर्दै साबिक विजेताको अग्रता दोब्बर पारेका थिए ।
खेलको इन्जुरी समयमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रको अग्रता ३-० अन्तरको बनाए । वैकल्पिक खेलाडी रूपमा मैदान छिरेका विमलको जारी लिगमा पहिलो गोल हो ।
सुरुआतदेखि नै शेर्पामाथि लगातार आक्रमण गरेको मछिन्द्रले गोलका थुप्रै अवसर सृजना गरे पनि स्कोरमा कन्भर्ट गर्न सकेन । मछिन्द्रका फरवार्ड नुर्लान नोब्रुजोभले ११औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।
रञ्जित धिमालले दायाँतर्फबाट दिएको लामो पास शेर्पाका डिफेन्डरले जर्ज गर्न नसक्दा नुर्लानले आक्रमणको मौका पाएका थिए ।
शेर्पाका मिडफिल्डर बिसोन गुरुङले २१औं मिनेटमा मछिन्द्रका विङ्गर सुनिल बलमाथि पेनाल्टी एरिया अगाडि फाउल गरेपछि फ्रि–किक पाएको थियो । सुनिलले २२औं मिनेटमा फ्रि–किकमार्फत गरेको प्रहार शेर्पाका गोलकिपर दीप कार्कीले पन्चआउट गरेका थिए ।
मनिष डाँगीले ३३औं मिनेटमा शेर्पाका तीन डिफेन्डरलाई बिट् गर्दै पेनाल्टी एरिया भित्रबाट दिएको सुन्दर क्रसमा सुनिल ट्याप इन गर्न असफल भए । सुनिलले ६ यार्ड बक्सबाट भित्रबाट गरेको प्रहार ट्याप इन गर्न नसक्दा मछिन्द्र अग्रता दोब्बर बनाउन नजिक पुरेर चुकेको थियो ।
पहिलो हाफभर मछिन्द्रको दबाबमा रहेको शेर्पाका सुरेश कुमालले ४७औं मिनेटमा बायाँ तर्फबाट गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पञ्च आउट गरिदिएका थिए ।
पहिलो चरणमा न्युरोड टिम (एनआरटी) विरुद्ध २–१ को जित निकालेको मछिन्द्र दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै, तेस्रो खेलमा जावलाखेल यूथ क्लबलाई २–० को नतिजामा पराजित गरेको थियो ।
पहिलो चरणमा संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको शेर्पा दोस्रो चरणमा मनाङ मर्स्याङदी क्लबसँग १–० गोलको नतिजामा पराजित भएको थियो । यस्तै, तेस्रो चरणमा नेपाल पुलिस क्ल्बसँग १–१ गोलको बराबरी खेलेको थियो । जितसँगै मछिन्द्रले ४ खेलबाट १० अंक जोडेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...