नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोटको सम्भावना भने अब गणितीय रुपमा मात्र बाँकी छ ।
काठमाडाैँ - इराकविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले हार बेहोरेको छ । पहिलो हाफको शुरूवातमा प्रभावशाली प्रदर्शन गरेपनि दोस्रो हाफमा नेपालको डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६–२ को हार बेहोर्नु परेको हो ।
पहिलो हाफमा एक समय नेपालले अग्रता समेत लिएको थियो । तर पहिलो हाफको अन्त्यतिर लगातार तीन गोल खाएपछि नेपाल सम्हालिन सकेन र खेलमा पकड गुमाउन पुग्यो । दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति कायम नै राख्यो भने नेपालको खेल निक्कै नै फितलो सावित भयो ।
बरियतामा नेपालभन्दा निकै माथिल्लो स्तरको इराकसँग तुलनात्मक रुपमा नेपालको प्रदर्शन भने विगतभन्दा केहि सुधारिएको देखियो । नेपालका विशेषगरि पहिलो रोजाइको खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।
खेलको दोस्रो मिनेटमा नै कर्नरमा हेडीङ गर्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा जुध्दा मुख्य डिफेन्डर रोहित चन्द घाइते हुन पुगे । खेलको सातौं मिनेटमा इराकले सुरुवाती गोलसँगै अग्रता बनायो । कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो ।
तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रहयो । इराकका खेलाडी गोलको खुसियाली मनाएर संयम हुन नपाउँदै गरेको आक्रमणमा अन्जन विष्टको प्रहार क्लियर गर्ने धुनमा खलाफको प्रहारले आफ्नै पोस्टको दिशा समाएको थियो ।
१३ औं मिनेटमा अन्जनले डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गरेको प्रहारलाई गोलरक्षक फाहद तालिम रहिमले बचाए । त्यस लगत्तै इराकले केही मुभ सिर्जना गरेपनि नेपालको डिफेन्स चिर्न सकेन । शुरूवाती १५ मिनेटपछि खेलको गति केहि सुस्त हुँदा इराकले बल पोसेसनमा पकड जमाउन सुरु गरेको थियो ।
त्यसैगरी, २७ औं मिनेटमा किरणले क्रसमा आएको हेडरलाई बचाउँदै खेल १–१ को बराबरीमा राखे । त्यसकै काउन्टरमा सिर्जना भएको आक्रमणमा मनिष डाँगीले पेनाल्टी क्षेत्रबाहिर बल नियन्त्रण गर्न खोज्दा ह्याण्ड भएपछि नेपालको आशालाग्दो आक्रमण रोकिन पुग्यो । तर तत्कालै नेपालले खेलको ३० औं मिनेटमा मनिषको गोलमा अग्रता लियो । उनले सन्तोष तामाङको चलाखीपूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोल गरे । गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गरेका थिए ।
३६ औं मिनेटमा कप्तान किरणले क्रसमा आएको हेडरलाई विफल पार्दै नेपालको अग्रता जोगाएका थिए । ३८ औं मिनेटमा इराकले बराबरी गोल फर्कायो । कर्नरमा आएको बललाई मोहमद अब्दुल्जारा ओबेदले ६ अर्ड बक्स नजिकबाट हेडरमार्फत गोल गर्दै बराबरी गोल फर्काए ।
त्यसको एक मिनेट नबित्दै इराकले अग्रता लियो । डिफेन्समा समन्वय नहुँदा अयमन हुसेन गबधनले पेनाल्टी क्षेत्रभित्र बल पाएर गोलरक्षक किरणलाई छलाउँदै इराकलाई अग्रता दिलाए । रोहितले दिएको व्याकपासमा किरण निकै पछाडी हुँदा गबधनले गोल गर्ने सहज अवसर पाएका थिए ।
दोस्रो हाफमा नेपालले तीन खेलाडी परिवर्तन गर्यो । सन्तोष तामाङ, नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल, अभिषेक रिजाल र विशाल राई मैदान प्रवेश गरे । दोस्रो हाफको शुरूवातमा इराकले दबाब बनाएपनि गोल गर्न भने निकै संघर्ष गर्नुपरेको थियो ।
६८ औं मिनेटमा सुमन अर्यालको खराब ब्याक पासको फाइदा उठाउँदै इराक ५–२ ले अघि बढ्न सफल भयो । वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले उक्त पासलाई नियन्त्रणमा लिँदै वन भर्सेस वनमा गोल गरे ।
खेलको ७४ औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६–२ को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । यही नै खेलको अन्तिम परिणाम भयो ।
नेपाल अब जुन पहिलो साताबाट शुरू हुने विश्वकप छनोटका बाँकी खेल खेल्न कुवेत प्रस्थान गर्नेछ । नेपालले अब छनोटका तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोटको सम्भावना भने अब गणितीय रुपमा मात्र बाँकी छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...