काठमाडौँ- वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले ललितपुरको जावलाखेल युथ क्लबलाई १-० अन्तरले पराजित गर्‍यो ।

७०औं मिनेटमा  सुमन लामाको गोलमा पुलिसले अग्रता लिएको थियो । रवि पासवानले मैदानको मध्यभागबाट निकालेको लामो पासमा सुमनले पेनाल्टी क्षेत्रको दाहिने भागबाट गरेको प्रहारले सेकेन्ड बारमा जाली चुमेको थियो । 

बाकी समय दुवै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । 

३९औं मिनेटमा रूपबहादुर लामाले करिब ३० यार्ड परबाट गरेको फ्रिकिक प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाएपछि जावलाखेल अग्रता लिनबाट चुकेको थियो । पुलिसका हेमन्त श्रेष्ठले निकाश फर्नान्डेशमाथि फाउल गरेपछि जावलाखेलले फ्रिकिक पाएको थियो । 

लगत्तै ४०औं मिनेटमा पुलिसका रवि पासवानाले देब्रे कर्नर साइटबाट गरेको क्रसमा तेज तामाङको प्रहारको जावलाखेलका गोलकिपर टिकेन्द्रसिंह थापाले उत्कृष्ट बचाएका थिए । 

६२औं मिनेटमा रवि पासवानले करिब ४० यार्ड परबाट गरेको प्रहार जावलाखेलका गोलकिपर थापाले पन्च गरी मुस्किलले बाहिर फ्याँकिदिए । 

६५औं मिनेटमा रविको हेडर पहिलो बारमा लागेर फर्कियो । मानबहादुर परियारले प्रहार गरेको फ्रिकिकमा रविले फ्लिक हेड गरेका थिए ।

त्यस्तै ६७औं मिनेटमा जावलाखेलका सन्तबहादुर गुरुङको प्रहार पनि सेकेन्ड बारमा लाग्दै फर्कियो । 

जितसँगै पुलिसले महत्त्वपूर्ण तीन अंक पाएको छ । पुलिसको दुई खेलबाट ४ अंक भएको छ । 

लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइजले एनआरटीको सामना गर्दा दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र क्लब विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध मैदान उत्रने छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...