एजेन्सी- युएई मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ ।
विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जीतका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जीतमा सीता राना मगरले सर्वाधिक ३० रनको योगदान दिईन् । कप्तान रुविना क्षेत्रीले २०, सरिता राना मगरले १५, कविता कुँवरले १० तथा इन्दु बर्माले चार रन बनाए ।
त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाइन् । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान दिए ।
बलिङतर्फ नेपालकी सबनम राईले दुई तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले एक/एक विकेट लिए । नेपाल चार खेलमा तीन जीत र एक हारका साथ ६ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो ।
त्यस्तै नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...