एजेन्सी- आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ ।  

 नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात परेको हो । यसअघि भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो । 

त्यस्तै नेपाल पहिलो खेलमा भने हङकङसँग ६ विकेटले पराजित भएको थियो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवल एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा इन्दु बर्माले १३ रन जोडिन भने कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २७ रन जोडेको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन ।

नेपालकी सङ्गीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक–एक विकेट लिए ।
कुवेत भने अघिल्ला दुबै खेलमा पराजित भएको थियो । 

नेपालले अब भोलि मलेसियासँग खेल्नेछ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...