काठमाडौँ- महिला टी २० अन्तर्राष्ट्रियमा नेपालले हालसम्मकै ठूलो रन अन्तरको जित हात पारेको छ ।
नेपालले कतारमाथि १ सय १९ रनको कीर्तिमानी जित निकालेको हो ।
नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको घरेलु टोली कतार ११.५ ओभर अलआउट हुँदै २७ रनमा समेटियो ।
कतारकी खादिजा इम्तियाज र एन्जेलिन मारेले सर्वाधिक ८/८ रन बनाइन्। यस्तै केरी पाउनसेटले ७ रन बनाउँदा रिज्फा बानो इमानुएलले ३ रन जोडिन् ।
कतारका ६ खेलाडीले खाता सम्म खोल्न सकेनन् ।
नेपालकी कप्तान रूविना क्षेत्री बेलबासेले १.५ ओभरमा १ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् ।
कविता कुँवरले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।
त्यसअघि कतारको दोहारस्थितवेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो ।
नेपालका लागि ४७ बलमा ५ चौकासहित सर्वाधिक ५५ रन बनाएकी इन्दु बर्माले रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् ।
इन्दु नेपालका लागि टी २० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।
यस्तै सीता राना मगरले आज ३३ बलमा ५ चौका सहित ३९ रन बनाएर आउट भइन् । सरिता मगर २१ बलमा २ चौका सहित २१ रनमा रन आउट हुँदा कविता कुँवर ८ रनमा अविजित रहिन् ।
कप्तान रुविना क्षेत्री बेलबासे शून्यमा रन आउट हुँदा ओपनर काजल श्रेष्ठ ३ रन बनाएर आउट भइन् ।
नेपालले कतारसँग बुधबार दोस्रो र बिहिबार तेस्रो खेल खेल्नेछ ।
आइसिसी वुमन्स टी २० एसिया छनोटअघि तयारीको लागि नेपालले कतारसँग तीन टि २० अन्तर्राष्ट्रिय सिरिज खेलेको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...