सात पटक शीर्ष वरीयतासहित वर्षको अन्त्य गर्दै टेनिस स्टार नोभाक जोकोभीकले नयाँ कीर्तिमान कायम गरे । पेरिस मास्टर्स ओपनको सेमिफाइनलमा हबुर्ट हर्काजलाई पराजित गरेसँगै जोकोभीकले शीर्ष वरीयतासहित यो वर्षको अन्त्य गर्ने निश्चित भएको हो ।
३४ वर्षीय जोकोभीक सातौं वर्ष शीर्ष वरीयतामा रहेका हुन् । यसअघि यो कीर्तिमान अमेरिकाको पिट सम्प्रासको नाममा थियो । सम्प्रास १९९३ देखि १९९८ सम्म लगातार ६ वर्ष शीर्ष स्थानमा रहेर कीर्तिमान कायम गरेका थिए । पेरिस मास्टर्स ओपनको फाइनलमा डानीयल मेदभेदेभलाई हराउँदै उनले उपाधि पनि जिते ।
यसभन्दा अघि जोकोभीक २०११, २०१२, २०१४, २०१५, २०१८ र २०२० को अन्त्यमा शीर्ष वरीयतामा थिए । जितपछि जोकोभीकले उपाधि र शीर्ष वरीयतासहित वर्षको अन्त्य हुनुलाई साँच्चै गौरवमय क्षणको रूपमा व्याख्या गरेका छन् । उनले यो सफलतासँगै आफू बच्चा भएकै समयमा आदर्श टेनिस खेलाडी पिट सम्प्रासलाई सम्झिएका छन् ।
कुनै दिन तिनै सम्प्रासलाई आदर्श मान्ने उनी सम्प्रासकै कीर्तिमानलाई भंग गर्दै त्यहाँ रहनुलाई महान् उपलब्धिको रूपमा लिन तयार भएको बताउँछन् । छैटौपटक पेरिस मास्टर्स जितेका जोकोभीकको यो पनि थप एक कीर्तिमान हो । यसअघि युएस ओपनको फाइनलमा यी दुई खेलाडीको भेट भए पनि दोस्रो वरीयताका मेदभेदेभले जोकोभीकलाई हराएका थिए ।
हाल सर्बियाका नागरिक जोकोभीकको बाल्यकाल र हालसम्मको जीवनयात्रा पक्कै सहज थिएन । ९० को दशकको युगोस्लाभिया गृहयुद्धको चपेटामा यसरी क्षतविक्षत भयो कि त्यही युगोस्लाभिया टुक्राटुक्रा भएर सर्बिया, मोन्टेनेग्रो, क्रोएसिया तथा बोस्निया हर्ज गोभीना बनेको छ । यो विभाजन मात्र थिएन, आन्तरिक युद्ध थियो । तनाव थियो । यसै तनावका बीच धेरैजना अभिभावकलाई आफ्ना बच्चा कसरी हुर्काउने भन्ने समस्याले सताएको थियो । १९८७ मा जन्मिएका नोभाक जोकोभीकका आमाबाबुका लागि पनि यो स्वाभाविक चिन्ताको विषय थियो ।
२० ग्रान्डस्लाम उपाधि जितेर कीर्तिमान कायम गरेका उनको नाममा सर्वाधिक नौ पटक अस्ट्रेलियन ओपन विजेताको रूपमा अर्को कीर्तिमान छ ।
त्यसो त उनको सनसनीपूर्ण प्रदर्शनको सुरुवात नै अस्ट्रेलियन ओपनबाट भएको थियो । रोजर फेडेरर र राफेल नाडालको प्रतिस्पर्धा भइरहेको समयमा उनले यी दुईको दबदबालाई पार गर्दै २००८ मा अस्ट्रेलियन ओपन उपाधि जितेका थिए । २०१० मा पुग्दा नाडाल, फेडेरर जोकोभीक समान स्तरका खेलाडीको रूपमा चिनिन थालिसकेका थिए । यी तीनले नै एक शताब्दी विश्व टेनिसमा प्रभाव राखे ।
२०११ मा चारमध्येका तीन मेजर उपाधिसहित कीर्तिमान तथा पाँच मास्टर उपाधि जितेर पहिलो पटक एटीपी वरीयताको शीर्ष स्थानमा उक्लिएका हुन् । २०१० को दशकमा अत्यन्त प्रभाव जमाएका जोकोभीकले यस दशकमा तीन पटक दोस्रो वरीयताको खेलाडीको रूपमा वर्षको अन्त्य गरे । उनले जित्न बाँकी रहेको एउटै ग्रान्डस्लाम फ्रेन्च ओपनको उपाधि पनि २०१६ मा जिते । त्यो वर्ष उनी क्यारियरकै उत्कृष्ट लयमा थिए ।
सर्बियालाई २०१० को डेभिस कपको उपाधि दिलाएका उनले २०२० मा एटीपी कपको उपाधि पनि दिलाए । ओलम्पिक खेलकुदमा भने उनले बेइजिङमा प्राप्त कांस्य पदक नै उत्कृष्ट प्रदर्शन थियो ।
यी महान् खेलाडीको हालको सफलतासँगै बाल्यकालको त्रासदीको पनि त्यत्तिकै चर्चा हुने गरेको छ । युगोस्लाभियाको विभाजनसँगै यी खेलाडीको बाल्यकाल अत्यन्त पीडादायक बनेको थियो । उनका बाबु सर्डान जोकोभीक सर्व थिए भने आमा डिजाना जोकोभीक क्रोएसियाली थिइन् । अर्थात् जोकोभीकको मामाघर क्रोएसियामा थियो ।
जुन समय उनले बेलग्रेडमा क्ले कोर्टको निर्माण गरेर टेनिस सिक्न सुरु गरेका थिए, सोही समय युगोस्लाभिया आदिवासीमाथिको यातना, आमनागरिकमाथि सैनिक ज्यादती तथा हजारौँ जनाको दुखान्त निधनका कारण प्रताडित थियो ।
एक भारतीय खेल विशेषज्ञले त तत्कालीन समयमा बदनाम युगोस्लाभहरूको छवि सुधार्ने काम नै जोकोभीकले गरेको धारणा राख्छन् । कतिसम्म भएको थियो भने १९९९ मा जोकोभीक टेनिस कोर्टमा जन्मदिन मनाइरहँदा नाटोले युगोस्लाभियाबाट कोसोभोको सेनालाई छुटाउनुपर्ने भन्दै हवाई आक्रमण गरेको थियो । केक काटेर ह्यापी बर्थ डे भन्दै गरेको समयमा टाउको नजिकैबाट कुनै हतियार गएपछिको अवस्था कस्तो भयो होला रु सम्झँदा पनि कहालीलाग्दो थियो, जोकोभीकका लागि ती दिन ।
एकदिन नाटोले बम प्रहार गरेको थियो । यो आवाज सुन्नेबित्तिकै जोकोभीककी आमा आत्तिएर यता र उता गर्न लागिन् । यसै क्रममा उनको टाउको हिटरमा ठोक्कियो । त्यो ठोक्काइले आमा त बेहोस भइन्, उनका बाबु पनि आत्तिन थाले, त्यसदिनको घटना पनि जोकोभीक कहिल्यै बिर्सन सक्दैनन् ।
फाइटर प्लेनको लक्ष्यभन्दा फरक किसिमले चल्ने योजना बेलग्रेडले बनाएको थियो । एकदिन जोकोभीकका प्रशिक्षक र उनलाई आमा जत्तिकै माया गर्ने जेलेना जेन्कीकीले एक दिनअघि बमबारी भएकै स्थानमा प्रशिक्षण गर्ने योजना बनाए । नाटोका सेनाले लगातार दुई दिन एकै स्थानमा बमबारी गर्दैनन् भन्ने अनुमानसहित त्यस स्थानमा प्रशिक्षण गर्ने निर्णय भएको थियो । त्यसरी डराएर प्रशिक्षण गरेको पनि उनी बिर्सन सक्दैनन् ।
जोकोभीककै अनुसार लगातार बमबारी हुन थाले पछि विद्यालयका साथै कोर्ट पनि बन्द गरिए । जोकोभीककै समकालीन पूर्वशीर्ष वरीयताकी सर्वखेलाडी अन्ना इभानोभीक डराएर रातको समयका बाबुआमालाई च्यापेर सुतेको दिन कहिल्यै पनि बिर्सन सक्दिनन् । ९० को दशकको त्यो त्रासदी भोग्ने पुस्तामा कुनै पनि चुनौतीको सामना गर्ने क्षमताको विकास भएको पनि धेरै बताउँछन् ।
त्यसो त ९० को दशकको गृहयुद्धको समयभन्दाअघि पनि युगोस्लाभियामा संसार हल्लाउने खेलाडी नभएका होइनन् । यो क्रम त्यो गृहयुद्धकालीन समयपछि पनि रोकिएन । सोभियत संघकै स्वरूपको राजनीति र अर्थ व्यवस्थालाई अनुशरण गरेको युगोस्लाभियामा कम्युनिस्ट शासनमै प्रशस्त खेलको आधार तयार पारिएका थिए ।
८० को दशकमा पनि प्रभावशाली खेलाडी उत्पादन गर्न सफल भएको युगोस्लाभियामा ९० को दशकमा पनि भौतिक संरचना भने जोगाइएका थिए । विभिन्न देशले ओलम्पिक महोत्सवको समेत आलोचना गरे पनि कम्युनिस्ट देश युगोस्लाभियाले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेको थियो ।
त्यसो त पुरानो युगोस्लाभिया र पछिल्लो सर्बियाका खेलाडीको जितपछि तीन औंला उठाएर अभिवादन गर्ने प्रचलन पनि छ । यसको मतलब युगो्स्लाभ सेनालाई अभिवादन हो । तर, जोकोभीकका लागि यो महत्त्वपूर्ण होइन । उनका लागि त १२ वर्षको उमेरमा आफ्नै नजिक भएको विस्फोटको याद महत्त्वपूर्ण हो । राजनीति र सीमाको नाममा गुमेको धेरेको ज्यान महत्त्वपूर्ण हो । यस कारण अहिले पनि बाढी पीडित होस् या भूकम्पपीडित, उनी सहयोगका लागि तत्पर हुन्छन् । उनको प्रस्ट आशय छ कि मान्छेको जीवनको तुलनामा अन्य हरेक कुरा गौण हुन् ।
जोकोभीकको भाषामा रिस, झगडा, र हिंसाले कसैलाई पनि हित गर्दैन । यदि देशको नाममा मान्छेको बीचमा प्रेम मरेर हिंसाको सुरुवात हुन्छ भने संसारका कुनै देशको आवश्यकता नै छैन भनेर जोकोभीकको चेतनाले १२ वर्षको उमेरमा नै भन्ने गरेको थियो । अहिले पनि उनी यसमा अडिग छन् ।
२०१० को समयका जोकोभीकका दुई मुख्य प्रतिद्वन्द्वी रोजर फेडेरर र राफेल नाडालको फर्म गइसकेको छ । उनका केही नयाँ प्रतिस्पर्धी तयार भएका छन् । यी खेलाडीको अझ केही वर्ष प्रभाव रहने सम्भावना कायम नै छ । सायद टेनिसमा बाँकी रहेका केही कीर्तिमान पनि उनले यस बीचमा भंग गर्ने छन् । ९० को दशकको त्यो त्रासदीबाट निस्किएर स्टार बनेका जोकोभीक अहिले कोर्ट भित्र र कोर्ट बाहिर धेरैका आदर्श पात्र बनेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...