Author
Author
लिलले लिगको ३८ खेलमा ८३ अंक जोड्दा पिएसजी ८२ अंकमा सिमित भयो । लिलले २४ जित, ११ बराबरी खेल्दा ३ खेलमा मात्र हार बेहोर्यो । यता पिएसजीले भने २६ खेलमा जित हात पार्दै ४ बराबरी खेल्दा ८ खेलमा पराजय भोगेको थियो ।
इंग्लिस प्रिमियर लिग
इंग्लिस प्रिमियर लिग अन्तर्गत अन्तिम चरणको खेलमा पराजित भएपनि चेल्सी आफू अनुकुल नतिजा आएपछि अर्को सिजन च्याम्पियन्स लिगको लागि छनोट भएको छ । लिभरपुल भने अन्तिम खेलमा जित निकालेर चेल्सीलाई उछिन्दै तेस्रो हुन सफल रहयो ।
एस्टन भिल्लाको मैदानमा २–१ ले पराजित भएपनि लेस्टर सिटीले घरेलु मैदानमा जित हासिल गर्न नसक्दा चेल्सी चौथो स्थानमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएको हो । लेस्टर भने टोटेनहमसँग घरेलु मैदानमा ४–२ ले पराजित भयो । दुई पटक अग्रता लिएपनि जित हासिल गर्न नसक्दा लेस्टरले च्याम्पियन्स लिग खेल्ने अवसर गुमायो ।
म्यान्चेस्टर सिटी तथा युनाइटेडले भने लिगमा पहिलो र स्थान पहिल्यै सुरक्षित गरिसकेका थिए । अंक तालिकामा च्याम्पियन म्यानचेस्टर सिटीको ८६ अंक तथा उपविजेता युनाइटेडको ७४ छ । लिभरपुल ६९ अंकसहित तेस्रो रहँदा चेल्सी ६७ अंकसहित चौथो रहयो । पाँचौ स्थानको लेस्टरले ६६ अंक मात्र जोड्न सक्यो । छैटौं स्थानमा वेस्ट ह्याम ६५ अंक जोड्दै युरोपा लिगका लागि छनोट भयो । टोटेनहम ६२ अंक जोड्दै सातौं तथा आर्सनल ६१ अंकसाथ् आठौं भयो ।
लिभरपुलको गोल पछि सलाह र माने, फोटोः मार्का
लेस्टरले खेलमा दुई पटक अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । पहिलो हाफमा जेमी भार्डीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । स्पर्सका ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा भार्डीले पेनाल्टी मार्फत नै गोल गर्दै लेस्टरको अग्रता पुनः स्थापना गरेका थिए ।
तर ह्युङ मिन सनको कर्नर लेस्टरका गोलरक्षक कास्पर स्माइकललाई लाग्दै गोल भएपछि टोटेनहम खेलमा फर्किएको थियो । ग्यारेथ बेलले खेलको ४ मिनेट समय बाँकी रहँदा गोल गरेपछि टोटेनहम जितनजिक पुगेको थियो । उनले ह्यारी केनको पासलाई पेनाल्टी क्षेत्र बाहिरबाट गोलमा परिणत गरेका थिए । इन्ज्युरी समयको अन्तिम मिनेटमा बेलले कमजोर डिफेन्सको फाइदा उठाउँदै जित पक्का गरे ।
चेल्सी भने खेलको ४३ औं मिनेटमा बार्टरान्ड ट्राओरेको गोलमा पछि परेको थियो । दोस्रो हाफमा अनवर एल घाजीले गोल गर्दै भिल्लालाई २–० को अग्रता दिलाए । बेन चिल्वेलले ७० औं मिनेटमा गोल फर्काएपनि चेल्सीले खेलमा फर्कन सकेन । ८९ औं मिनेटमा कप्तान सेजार एज्पिलीक्वेटा रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए ।
लिगको अर्को खेलमा च्याम्पियन म्यानचेस्टर सिटीले एभर्टनमाथि ५–० को सहज जित दर्ता गर्यो । सिटीका लागि अन्तिम खेल खेलिरहेका फरवार्ड सर्जियो अगुएरोले २ गोल गरे । उनले दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । सिटीका लागि केभिन डे ब्रुएन, ग्याब्रिएल जेसस र फिल फोडेनले १–१ गोल गरे ।
लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० ले हरायो । साडियो मानेको दुई गोल नै लिभरपुलको तेस्रो स्थान पक्का गर्न पर्याप्त रहयो । म्यानचेस्टर युनाइटेडले वुल्भ्समाथि २–१ को जित दर्ता गर्यो । एन्थोनी एलांगा र जुआन माटाले युनाइटेडका लागि गोल गर्दा नेल्सन समेडोको बराबरी गोल खेर गयो ।
त्यस्तै आर्सनलले ब्राइटनलाई २–० ले पराजित गर्यो । आर्सनलको जितमा दुवै गोल निकोलस पेपेले दोस्रो हाफमा गरे । वेस्ट ह्यामले साउथह्याम्पटनमाथि ३–० को जित निकाल्यो । वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्सले २ तथा डेक्लन राइसले १ गोल गरे ।
लिड्स युनाइटेडले वेस्ट ब्रोममाथि ३–१ को जित निकाल्यो । लिड्सका लागि रोड्रीगो, काल्भिन फिलिप्स र प्याट्रिक ‘बामफर्डले १–१ गोल गरे । सेफिल्डले डेविड मक्गोल्डरिकको गोलमा बर्नालीलाई १–० ले हरायो । न्युकासलले फुलहममाथि २–० को जित दर्ता गर्यो । जो विलक र फाबियन सारले न्युकासलका लागि गोल गरे ।
सर्जियो अगुएरोको विदाई
त्यसैगरि, इंग्लिस प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले लिगको अन्तिम खेलमा यादगार बिदाइ पाएका छन् । लिगको अन्तिम खेलमा अगुएरोले दुई गोल गरे । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले कीर्तिमान रच्दै प्रिमियर लिगबाट बिदा भए ।
अगुएरोले अन्तिम खेलमा दुई गोल गर्दै वायन रोनीले राखेको प्रिमियर लिग कीर्तिमान समेत तोडेका छन् । रोनीले म्यानचेस्टर युनाइटेडका लागि १ सय ८३ गोल गरेका थिए । अगुएरोले समग्रमा १ सय ८४ गोल गर्दै प्रिमियर लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाए ।
त्यस्तै अगुएरोले सिटीको जर्सीमा खेल्दै ५ पटक प्रिमियर लिग उपाधि जिते । सन् २०११÷१२ सिजनको अन्तिम खेलको अन्तिम मिनेटमा गोल गर्दै अगुएरोले इतिहासमा आफ्नो नाम लेखाएका थिए । ‘म्यारोडोनाले इटाली, मेसीले स्पेनमा जस्तै अगुएरोले इंग्ल्याण्डमा प्रभुत्त जमाएका छन्’ प्रशिक्षक पेप ग्वार्डिवालाले भनेका छन् ।
सर्जियो अगुएरो, फोटोः मार्का
फ्रान्समा पिएसजीलाई पछि पार्दै लिल बन्यो च्याम्पियन
साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पछि पार्दै लिलले फ्रान्सेली लिगको उपाधि जितेको छ । आइतबार भएको अन्तिम चरणको खेलमा एन्जर्समाथि २–१ को जित दर्ता गर्दै लिल लिग च्याम्पियन बनेको हो । पिएसजीले आफ्नो खेलमा ब्रेस्टमाथि २–० को जित हासिल गरेपनि उपाधिको सिलसिलामा पूर्णविराम लागेको हो । लिलले पिएसजीलाई १ अंकले पछि पार्दै आधिपत्य तोडेको छ ।
लिलले लिगको ३८ खेलमा ८३ अंक जोड्दा पिएसजी ८२ अंकमा सिमित भयो । लिलले २४ जित, ११ बराबरी खेल्दा ३ खेलमा मात्र हार बेहोर्यो । यता पिएसजीले भने २६ खेलमा जित हात पार्दै ४ बराबरी खेल्दा ८ खेलमा पराजय भोगेको थियो ।
एन्जर्सविरुद्ध लिलले खेलको दशौं मिनेटमा जोनाथन डेविडको गोलमा अग्रता लिएको थियो । पोर्चुगिज मिडफिल्डर रेनाटो सान्चेसको पासलाई सदुपयोग गर्दै डेविडले लिललाई उपाधि नजिक पुर्याएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा बुराक यिल्माजले गोल गर्दै लिलको अग्रता दोब्बर पारे ।
इन्ज्युरी समयमा एन्जेलो फुगीलिनीले गोल गर्दै एन्जर्सलाई खेलमा फर्काउने सम्भावना देखाएका थिए । तर लिल आफ्नो अग्रतामा कायम रहँदै चौथो पटक लिग जित्न सफल रहयो । लिलले सन् २०११ पछि पहिलो पटक उपाधि जितेको हो । लिल र पिएसजीसँगै मोनाको र लियोन च्याम्पियन लिगमा छनोट भएका छन् ।
इटालीबाट इन्टर मिनान, एसी मिलान, युभेन्टस र एटलान्टा छनोट
अन्तिम खेलमा फराकिलो जित दर्ता गर्दै युभेन्टस अर्को सिजन यूईएफए च्याम्पियन्स लिगका लागि छनोट भएको छ । इटालियन सिरी ए अन्तर्गत आइतबार भएको अन्तिम चरणको खेलमा युभेन्टसले बोलोग्नाको मैदानमा ४–१ को जित दर्ता गर्दा नेपोली भेरोनासँग १–१ को बराबरीमा रोकिएपछि शीर्ष ४ समिकरण अन्तिम दिनमा परिवर्तन भएको थियो ।
च्याम्पियन्स लिग दौडकै अर्को खेलमा एसी मिलानले एटलान्टालाई २–० ले पराजित गर्दै लिगको उपविजेता बन्न सफल रहयो । यसअघि नै च्याम्पियन्स लिगमा स्थान पक्कागरेको एटलान्टा भने चौथो स्थानमा रहँदै लिग अन्त्य गर्न पुग्यो ।
अंक तालिकामा च्याम्पियन इन्टरले ३८ खेलमा २८ जित, ७ बराबर र ३ हारसहित ९१ अंक जोड्यो । दोस्रो स्थानको एसी मिलानले २४ जित र समान ७–७ हार र बराबरीका साथ ७९ अंक बनायो ।
एटलान्टा र युभेन्टस समान ७८ अंक रहेपनि हेड टु हेडमा एटलान्टा तेस्रो स्थानमा रहयो । दुवै टोलीले लिगमा २३ जित, ९ बराबरी र ६ हारको नतिजा निकालेका थिए । नेपोली भने ७७ अंक जोड्दै युरोपा लिगमा सिमित हुन पुग्यो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...