काठमाडौँ- नेपाल १७४ रन बनाएर अलआउट भएको छ ।  कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको हो । नेपालले ४८ ओभर खेल्दै सबै विकेट गुमाएको छ ।

टोलीको लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। यसअघि अमेरिका र ओमानविरुद्ध पनि राम्रो सुरुआत गरेका ज्ञानेन्द्रले ठूलो इनिङ खेल्न सकेका थिएनन् । तर आज भने अमेरिकाविरुद्ध टोली संकटमा परेका बेला उनले संयमित खेल प्रदर्शन गरेका हुन् । उनले ५५ रन बनाउने क्रममा १०५ बल खेले । उनले ३ चौका प्रहार गरे । 

आजकै खेलमा डेब्यू गरेका गुलशन झाले ज्ञानेन्द्रलाई बलियो साथ दिए । आउट हुनुअघि ५३ बल खेल्दै १ छक्का र २ चौका प्रहार गरेका उनले २८ रन बनाए । ज्ञानेन्द्र र गुलशनले ५१ रनको साझेदारी गरे । यही साझेदारीको बलमा नेपालले सम्मानजनक योगफल बनाएको हो । 

यी दुईबाहेक ओपनर कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाए  भने करन केसीले १० र सन्दीप लामिछानेले ११ रन बनाए । आशिफ शेख (३ रन), रोहित पौडेल (२ रन) र विनोद भण्डारी (१० रन) सस्तैमा आउट हुँदा नेपाल ठूलो स्कोर बनाउन चुक्यो ।

अमेरिकाका लागि कप्तान सौरभ नेत्रवाल्करले ४ विकेट लिए । यस्तै काइल फिलिपले २ विकेट लिए भने एल्मोर हचिन्सन, नोस्थस केनिज र करिमा गोरेले समान एक/एक विकेट लिए । 

प्रतियोगितामा नेपालले यसअघि दुई खेल खेलिसकेको छ ।  नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...