मस्कट । अमेरिकाविरुद्ध आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । 

ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा अमेरिकाका कप्तान शौरभ नेत्राभाल्करले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । 

ओमानमा हुन लागेको अमेरिका, नेपाल र घरेलु टोलीबीचको त्रिदेशीय शृंखलामा यो पहिलो खेल हो । यसअघि नेपाल र अमेरिकाले अभ्यासस्वरूप पपुवा न्युगिनीविरुद्ध खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । अमेरिकाले दुवै खेलमा सहज जित निकालेको थियो भने नेपालले पनि दुवै खेलमा विजय हासिल गरेको थियो । 

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको यो दोस्रो त्रिदेशीय शृंखला हो । यसअघि नेपालमै फेब्रुअरी २०२० मा सम्पन्न त्रिदेशीय शृंखलामा नेपालले अमेरिकालाई दुबै खेलमा पराजित गरेको थियो । तर, ओमानको कन्डिसन र पिचको अवस्था नेपालको भन्दा फरक भएकाले नतिजामा पनि फरक पर्ने नेपालका कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...