काठमाडौँ- नेपाल र भारतबीचको मैत्री खेल १-१ को बराबरीमा रोकिएको छ । खेलको पहिलो हाफमा नेपालले पाएको अग्रता कायम राख्न नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो।
खेलको पहिलो हाफमा नेपालका लागि अञ्जन बिष्टले गोल गरेका थिए । ३६ औं मिनेटमा भारतीय खेलाडीले आफ्नै गोलकिपरलाई पास दिने क्रममा गोल लाइनमा रहेका अञ्जनले पाएको मौकाको सदुपयोग गरेका हुन् ।
पहिलो हाफमा थप गोल नभएसँगै नेपालले खेलमा पकड जमाएको थियो ।
दोस्रो हाफमा भने सम्हालिएर खेलेको भारतले नेपाललाई दबाबमा राख्यो । खेलको ६०औं मिनेटमा भारतले बराबरी गोल समेत फर्काउन सक्यो । भारतका लागि अनिरुद्ध थापाले गोल गरेका हुन् । सुनिल क्षेत्रीले गरेको कडा प्रहार किरण चेम्जोङ रोकेपनि रिबाउन्ड बललाई अनिरुद्धले पोस्टतर्फ प्रहार गर्दे गोल गरेका हुन् ।
नेपाल-भारतबीचको दोस्रो खेल आगामी आइतबार हुने तय छ । काठमाडौंको दशरथ रंगशालामा दुई टोलीबीचको यो खेललाई साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।
लेखकबाट थप...