काठमाडाैँ - चार वर्षपछि नेपाल र भारतबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । आउँदो असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र भारतले दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।
जसमध्ये पहिलो खेल आज साँझ साढे ५ बजे दशरथ रंगशालामा हुँदैछ । यस्तै दोस्रो खेल आगामी आइतबार रंगशालमै हुनेछ । मैत्रीपूर्ण खेलका लागि सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय भारतीय टोली नेपाल आएको छ ।
बलियो टिम भारतविरुद्ध मैदान उत्रँदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जित्नकै लागि खेल्ने बताएका छन् ।
कप्तान किरण चेम्जोङले भारतसँग खेल्न कठिन हुने बताउँदै भारतको कमिकमजोरी पत्ता लगाएर आउँदा दिनको लागि पाठ सिक्ने बताए । उनले नेपालले घरेलु मैदानको फाइदा लिन सक्नुपर्ने पनि बताए ।
नेपालले पछिल्लो पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो । अनिल गुरुङ र जुमानु राईले गोल गरेपछि दशरथ रङ्गशालामा नेपालले भारतलाई २–१ ले हराएको थियो। यसैबीच नेपाल र भारतबीचको खेलका क्रममा दर्शकलाई रङ्गशाला प्रवेश दिइने भएको छ ।
कोरोनाविरुद्धको खोप लगाएका वा ७२ घण्टा अघिको पीसीआर नेगेटिभ रिपोर्ट भएका पाँच हजार एक सय दर्शकलाई प्रवेश दिइने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । टिकटका लागि एन्फाले भीआईपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...