काठमाडौँ - नेपालविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेलका लागि भारतीय फुटबल टोली आज सोमबार नेपाल आउँदैछ ।
१७ र २० भदौमा दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबलको ३७ सदस्यीय टोली आउन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । दुवै खेलले फिफा मान्यता पाएका छन् ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले २५ खेलाडी तथा १२ अफिसियल साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको बताए ।
गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशन (एआइएफएफ) ले २५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टिमको कप्तान सुनिल क्षेत्री छन् । यस्तै गोलरक्षक गुरप्रीत सिंह सन्धु समेत नेपाल भ्रमणमा रहनेछन् ।
नेपाल भ्रमणमा रहँदा भारतीय टोली होटल सोल्टी क्राउनमा बस्ने महासचिव तुलाधरले बताए । टोलीले सातदोबाटो स्थित एन्फा मैदान, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्ने कार्यक्रम छ ।
नेपालले समेत भारतविरुद्ध खेलका लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए । १५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली आइतबार काठमाडौं फर्किएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...