इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सी र लिभरपुल १–१ को बराबरीमा रोकिएका छन् । दोस्रो हाफ १० खेलाडीमा सिमित रहेको चेल्सीले लिभरपुलको मैदानमा एक अंक खोस्न सफल भएको हो ।
खेलको क२२ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले रिस जेम्सको कर्नरमा गरेको फ्लिक हेडर सिधै गोलमा परिणत भएको थियो ।
तर, पहिलो हाफको अन्त्यमा रातो कार्ड खाएसँगै चेल्सीले अग्रता गुमाउन पुग्यो । इन्ज्युरी समयमा जेम्सले गोललाइनमा गोल बचाउने क्रममा बलले हातमा लागेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै रेफ्री एन्थोनी टेलरले जेम्सलाई रातो कार्ड दिँदै लिभरपुललाई पेनाल्टी दिए । उक्त पेनाल्टीमा गोल गर्दै मोहमद सलाहले खेल बराबरीमा ल्याए ।
दोस्रो हाफमा लिभरपुलले एकतर्फी आक्रमण गरेपनि गोल निकाल्न नसक्दा खेलमा अग्रता लिन सकेन । चेल्सीले रक्षात्मक रणनीति अपनाउँदै लिभरपुलको आक्रमणलाई निस्तेज पारिरह्यो । यो बराबरीले दुवै टोलीको अपराजित यात्रा कायम रहेको छ भने टोलीले ३ खेलमा समान ७–७ अंक जोडेका छन् र, गोल अन्तर पनि दुवैको ५–५ छ ।
त्यसैगरि, शनिबार नै भएको अर्को खेलमा एभर्टनले घरेलु टोली ब्राइटनमाथि २–० को जित हात पार्यो । एभर्टनको जितमा डेमाराई ग्रे र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४१औं मिनेटमा डेमाराई ग्रेको गोलबाट एर्भटनले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।
त्यस्तै ५८औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारे । सिमस कोलम्यानलाई पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले एर्भटनलाई पेनाल्टी प्रदान गरेका थिए । जसलाई लेविनले सहजै गोलमा परिणत गरे ।
त्यसपछि थप गोल निस्कन नसक्दा एभर्टन २–० ले विजयी हुन सफल भयो । प्रिमियर लिगमा एभर्टनको यो दोस्रो जित हो । दोस्रो जितसँगै एभर्टनले ३ खेलबाट ७ अंक जोडेको छ । पहिलो हार बेहारेको ब्राइटनको ३ खेलबाट ६ अंक छ ।
यस्तै अर्काे खेलमा लेस्टर सिटीले घरेलु टोली नर्विच सिटीमाथि २–१ को जित दर्ता गरेको छ । लेस्टरको जितमा जेमी भार्डी र मार्क अल्ब्राइटनले गोल गर्दा घरेलु टोलीका टिमु पुकीको गोल सान्त्वना बन्यो । खेलको आठौं मिनेटमा लेस्टरका लागि जेमी भार्डीको गोलबाट लेस्टरले अग्रता लिएको थियो ।
४४औं मिनेटमा टिमु पुकीले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । ७६औं मिनेटमा मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरलाई २–१ ले अघि बढाए । ८०औं मिनेटमा केन्नी म्याकलिनले गोल गरेपनि भिएआरबट मान्यता नपाउँदा नर्विच बराबरीबाट चुक्यो । भिएआरमा उनी अफसाइड ठहरिएको थिए । जितसँगै लेस्टरको ३ खेलबाट ६ अंक पुगेको छ । तीन खेलमा नै पराजय बेहोरेको नर्विचले अंकको खाता खोल्न सकेको छैन ।
त्यसअघि साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सानदार जित दर्ता गरेको थियो । पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको आर्सनललाई सिटीले घरेलु मैदानमा ५–० ले पराजित गरेको हो ।
इतिहाद स्टेडियममा घरेलु टोलीको सानदार जितमा फेरान टोरेसले २ तथा इल्काए गुन्डोगान, गाब्रियल जेसस र रोड्रीले १–१ गोल गरे । एकपक्षीय खेलमा सिटीले खेलको सातौं मिनेटमा नै गुन्डोगानको गोलबाट अग्रता लिएको थियो । गाब्रियल जेससको क्रसमा उनको हेडर गोलरक्षक बर्न्ड लेनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
१२औं मिनेटमै फेरान टोरेसले सिटीको अग्रता दोब्बर पारे । ३५औं मिनेटमा ग्रानिट झाका सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्सनल थप दवावमा आयो । जोओ क्यान्ससेलोमाथि फल गरेपछि रेफ्रीले झाकालाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।
४३औं मिनेटमा ब्राजिली गाब्रियल जेससले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए । पहिलो हाफमा नै निकै दबाबमा रहेको आर्सनलले दोस्रो हाफमा पूर्ण रुपमा रक्षात्मक रणनीति अपनाउँदा पनि सिटीलाई रोक्न सकेन । फलस्वरुप, ५३औं मिनेटमा फेरान टोरेसको पासमा रोड्रीले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए । टोरेसले नै ८४ औं मिनेटमा माहरेजको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई सानदार जित निकाल्यो ।
प्रिमियर लिगमा सिटीको यो दोस्रो जित हो । पहिलो खेलमा टोटेनहमसँग १–० ले स्तब्ध भएपछि सिटीले दोस्रो खेलमा नर्विच सिटीमाथि ५–० को जित निकाल्दै जितको लयमा फर्किएको थियो । यो जितसँगै सिटीको तीन खेलबाट ६ अंक पुगेको छ ।
यता, खराब सुरुवात गरेको आर्सनलले लगातार तेस्रो खेलमा गोल गर्न नसक्दा अंकविहिन नै रहयो । यो आर्सनलको क्लब इतिहासकै सबैभन्दा खराब सुरुवात हो । आर्सनल पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफर्ड र चेल्सीसँग समान २–० ले पराजित भएको थियो ।
लिगकै अन्य खेलमा एस्टन भिल्ला र ब्रेन्टफर्डले १–१को बराबरी, न्युक्यासलविरुद्ध र साउथह्याम्टन तथा वेस्ट ह्यामविरुद्ध र क्रिस्टल प्यालेसले २–२ को बराबरी खेलेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...