काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले फेरी एकपटक राष्ट्रिय टोलीबाट बाहिरिने संकेत व्यक्त गरेका छन् । अलमुताइरीले सामाजिक सन्जालद्वारा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठिन छानविन समितिको निष्कर्षप्रति असहमतिको संकेत गरेका हुन् ।
छानविन समितिले प्रतिवेदन बुझाएको भएको केहि समयपछि नै आज फेसबुकमा अलमुताइरीले स्टाटस लेखेका छन्, ‘म निस्किएँ, अब राजनीतिले काम गरोस् ।’
छानविन समितिले अलमुताइरीले व्यवाहारिक आचरणमा सुधार गर्नुपर्ने निष्कर्ष निकाल्दै राखेपलाई बुधबार आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन कार्यान्वयनमा लाने प्रक्रिया सुरु नहुँदै अलमुताइरीले आफ्नो धारणा फेरि पनि फेसबुकबाट सार्वजनिक गरेका छन् । जबकी उनले समितिलाई बयान दिएपछि आफूले सबै विषय समिति समक्ष राखेको र समितिको निर्णय मान्ने प्रतिक्रिया दिएका थिए ।
एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र अलमुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिले झन्डै ३ साता लगाएर तयार प्रतिवेदनमा अलमुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने, एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव प्रतिवेदनमा समेटेको छ ।
उनले एक महिनाको समयअवधि नपुग्दै दोस्रोपटक राष्ट्रिय टोली छाड्ने संकेत गरेका छन् । अघिल्लो स्टाटसमा आफू राजीनामा दिन गइरहेको र त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ जिम्मेवार रहेको उनको आशय व्यक्त गरेका थिए । त्यहिबाट विवादमा अनेक मोड आएका थिए । साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए ।
अलमुताइरीले बुधबार साँझ पोस्ट गरेको स्टाटसको प्रतिक्रियामा शुभेच्छुकहरूले नेपाली फुटबलको विकासको लागि काम गरिरहेको भन्दै उनलाई त्यसो गर्नबाट रोक्न अनुरोध गरिरहेको देख्न सकिन्छ ।
अलमुताइरीले पटकपटक न आफ्नो देशका लागि, न पदाधिकारीहरूका लागि काम गरेको भन्दै नेपालली फुटबल जगत राजनीतिको चपेटामा परेको उल्लेख गर्दै आइरहेका छन् । उनले नेपाली फुटबल आगामी तीन वर्षमा राम्रो हुने पनि दाबी समेत गर्दै आइरहेका छन् ।
अलमुताइरी गत वर्ष चैतमा कतार फुटबल संघको सहयोगमा नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक पदमा अनुबन्ध भएका थिए । उनले पद सम्हालेदेखि नेपाली राष्ट्रिय फुटबल टिममा उथलपुथल गरिदिएका थिए । उनले धेरैजसो नयाँ युवा खेलाडीलाई मौका दिएका थिए । उनको नेतृत्वमा नेपाली टिमले चारवटा अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमा टिमले तीनमा पराजय र एकमा जित हासिल गरेको छ । उक्त जित नेपालले विश्वकप छनोट चरणअन्तर्गत खेल चाइनिज ताइपेइविरुद्ध थियो । यद्यपि, उनी आउनुअघि पनि नेपाली टिमले चाइनिज ताइपेइलाई हराएकै थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...