कास्की- खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु गर्न लागिएको हो । विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ । यही साउन मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ ।
प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित दुई वर्षअघि विश्वविद्यालयको स्थापना गरेपछि यस वर्षदेखि विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम अघि बढाएको हो । बिएसएमसहित यस वर्षदेखि ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी(बिआइटी)को पनि अध्यापन सुरु हुनेछ । 
देशमै पहिलोपटक स्नातक तहमा बिएसएमको चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई खेलकुदका सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले बताएका छन् । अधिकांश पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर बनाइएको र पाठ्यक्रमममा १० देखि १२ वटा खेलका विषयमा सैद्धान्तिक अध्ययापनसमेत हुने बताइएको छ । उपकुलपति देवकोटा भन्छन् ‘अध्यापनको मुख्य उद्देश्य युवालाई खेलकुद व्यवस्थापक, म्यानेजर, प्रशिक्षक, रेफ्रिसहित खेलकुद कार्यक्रम सञ्चालनमा सक्षम बनाउनु सँगसँगै खेलाडी बन्नसमेत सघाउने छ ।’

आठ सेमेष्टरमा सञ्चालन हुने कोर्षमा भलिबल, फुटबल, तेक्वान्दो, कराँते, ह्याण्डबल, एथलेटिक्स, जिम्न्याष्टिक, बास्केटबल, आर्चरी, ठेलो, क्रिकेट र स्विमिङलाई समावेश गरिएको छ । यसैगरी खेलकुद मार्केटिङ, खेलकुद अर्थतन्त्र, ‘फन्डिङ इन स्पोर्ट्स’, ‘स्पोर्ट्स टुरिजम’, ‘स्पोर्ट्स इन ग्लोबलाइजेशन’, ‘स्पोर्ट्स इन मिडिया’, ‘स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्ट्स इन्डष्ट्रिज’, ‘एथलेटिक्स केयर एण्ड रिह्याविलिटेसन’ लगायतका विषय पाठ्यक्रममा राखिएको छ । 
स्नातक तहमा खेलकुद विषयको अध्यापनबाट एक सक्षम खेल प्रशासक र खेल व्यवस्थापक बन्नका लागि विद्यार्थीलाई पर्याप्त ज्ञान प्राप्त गर्ने विश्वास लिइएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले नेपालको खेलकुद विकासका लागि सो कार्यक्रम कोसेढुङ्गा बन्ने बताउछन् ।
स्नातक तहमा चार वर्षे बिएसएम कार्यक्रमको शुल्क रु तीन लाख ३० हजार रहेकामा विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ । पहिलो वर्ष ५० विद्यार्थीका लागि कोटा रहेको र आगामी दशैँपछि कक्षा सञ्चालनको तयारी छ । 
स्नातक तहमा चार वर्षे कोर्ष पूरा भएपछि स्नातकोत्तर तहमा पनि खेलकुद विज्ञानका विषयमा अध्यापन गरिने छ । नेपालको संविधानले उच्च शिक्षाको व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई दिएको छ । यसैगरी माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...