अक्टोबरको अन्तिम साता जतिबेला इङलिस प्रिमियर लिगमा पाँचौ र छैटौं चरणका खेलहरु हुँदै थिए, १३ अंक सहित लिगको शिर्ष स्थानमा थियो एभर्टन । १३ अंक सहित उसलाई पछ्याएको थियो उसकै मर्सिसाइड डर्बी लिभरपुलले । तेस्रो स्थानमा थियो, १२ अंक सहित लिभरपुलकै परम्परागत प्रतिद्वन्दी एस्टन भिल्ला । तिनको पछिपछि थिए लिड्स युनाइटेड , क्रिस्टल प्यालेस , चेल्सी र लिसेस्टर । शक्तिशाली कहलिएका म्यान्चेस्टर क्लबहरु सिटी र युनाइटेड टप टेनमा समेत अटाएका थिएनन् । सुरुमै सबैले अनुमान लगाएका थिए कि यसपाली पनि उपाधिको प्रमुख दाबेदारी गत सालको बिजेता लिभरपुलले देखाउनेछ ।
भिल्ला पार्कको ७-२ को नमिठो पराजयले नै केही संकेत गरिसकेको थियोे कि यो लिभरपुल सायद अब पोहोरको जस्तो रहिरहने छैन । त्यसो त कार्लो एन्सेलोटीको एभर्टन,बेन्डन रोजर्सको लिसेस्टरको नाटकिय उदयको कारण नोभेम्बरमा त अधिकांशलाई लागेको थियो यसपालीको बिजेता केही फरक हुनेछ । यो लिग अब गत साल लिभरपुलले देखाएजस्तो 'सिंगल हर्स' रेस जस्तो बन्ने छैन । न कि परारको सिटीले लिभरपुललाई १ अंकले पछि पारेर उपाधि उचालेको 'डबल हर्स' रेस नै । अनुमान थियो यसपाली ३/४ क्लबबिचमा उपाधिको लागि कडा प्रतिस्पर्धा हुनेछ । र यो प्रतिस्पर्धामा म्यान्चेस्टरहरु भने छाडिन सक्नेछन् ।
तर जसै १६ औँ चरणको खेल सकियो दुवै म्यानचेस्टहरुले लिभरपुललाई पछि पारिसकेका थिए भने तालिकामा पहिलो र दोश्रो स्थान ओगटेका थिए । लिसेस्टर चौँथो र एभर्टन पाँचौ स्थानमा थिए । अब आँकलन गरिएको थियो कि अब प्रतिस्पर्धा यिनै पाँच क्लबबिचमा हुनेछ । किनकि पहिलो र पाँचौ बिचमा मात्र ४ अंकको अन्तर थियो ।
अहिले लिगको २५ औँ चरण सकिसकेको छ । र यहाँसम्म आइपुग्दा यसपालीको सबै सुरुवाती अनुमानहरु गलत निस्किसकेका छन् । यसबिचमा पेप ग्वार्डीवालाको सिटी र ओले गनर सोल्जररको युनाइटेडले नाटकिय पुनरागमन गरिसकेका छन् भने योर्गन क्लोपको लिभरपुल पनि नाटकिय ढंगबाट पराजयको श्रृङखलाबाट निरन्तर जसो गुज्रिरहेको छ ।
२५ खेलबाट ५९ अंक बटुल्दै दोश्रो स्थानको युनाइटेड र तेस्रो स्थानको लिसेस्टरसँग १० अंकको दुरी राखेर सिटीले लिगलाई 'सिङ्गल हर्स' रेसमा रुपान्तरण गरिसकेको छ । डिपेन्डिङ च्याम्पियन लिभरपुल भने सिटीभन्दा १९ अंकले पछि पर्दै सातौँ स्थानमा छ । लिभरपुलको नाटकिय पराजयपछि उसका भ्यान ड्रिक तथा गोमेज जस्ता हस्ति रक्षकहरु घाइते हुनुनै प्रमुख कारण मानिएको छ । एक महिना यता लिभरपुलले म्यानचेस्टर युनाइटेड ,ब्राइटन,सिटी,लिसेस्टर र एभर्टनसँग पराजित भइसकेको छ । त्यसो त गत आइतबारको एभर्टनसँगको एनफिल्डमा भएको ०-२ को पराजय अघि सिटीका ग्वार्डीवाला भन्दै थिए लिभरपुल फेरि टाइटल रेसमा फर्किनेछ।अन्य घरेलु प्रतिस्पर्धाबाट बाहिरिएको लिभरपुलको लागि सिटीकोभन्दा कम व्यस्त तालिका भएको कारण पेपले यसो भनेका हुन् । तर ग्वार्डीवालाको सिटीले जुन अग्रता लिए, त्यसैले के भन्छ भने अबको इपिएल प्रतिस्पर्धा अन्य क्लबको लागि च्याम्पियन लिग तथा युरोपा लिगको छनोटको लागि हुनेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...