पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् ।
विश्वासको मतमाथिको प्रस्तावमाथि भएको मतदानमा पोखरेलले ३१ मत प्राप्त गरेका छन् । जुन सरकार बनाउन आवश्यक मतभन्दा १ मत बढी हो ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा गत सोमबार सर्वोच्चले पदमुक्त गरेपछि गण्डकीको सांसद संख्या ५९ कायम भएको थियो । सांसद संख्या ५९ भएपछि सरकार जोगाउन ३० मत भएपनि पुग्छ ।
गत शनिबार संविधानको धारा १६८(५) अनुसार नियुक्त भएका मुख्यमन्त्री पोखरेलले ३१ मत पाए । उनले काङ्ग्रेसका १५, माओवादी केद्रको ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको २–२ तथा स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङेको) १ मत पाएका हुन ।
प्रतिपक्षमा रहेको एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गर्यो । विपक्षमा २७ मत पर्यो । गण्डकी प्रदेशसभामा ५८ जना सांसद मतदानमा सहभागी थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...