काठमाडौँ । निर्वाचन आचारसंहिता, २०७८ ले मतदानको दिन मतदान केन्द्रमा राजनीतिक दल उम्मेदवार, दलको भ्रातृ संगठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ ।
यस अनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा ब्याच लगाउन नहुने, कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने, कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन नहुने तथा मतदाता एवम् आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने व्यवस्था छ ।
यसैगरी मतदाताहरूले मतदान केन्द्रमा मतदान गर्न जाँदा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाईटरजस्ता प्रज्वलनशील पदार्थ, एसिड कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाउने, कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने, मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार लाउने वा कुनै अवरोध गर्ने काम गर्न गराउन नहुने, कसैको दल वा उम्मेदवारको झण्डा वा चिन्ह अंकित कुनै कुरा लगाउन, बोक्न वा प्रदर्शन गर्न नहुने तथा कसैको पक्ष विपक्षमा सामाजिक सञ्जाल मार्फत् कुनै कुरा प्रकाशन प्रसारण र संप्रेषण गर्न नहुने जस्ता व्यवस्थाहरू गरिएका छन् ।
यसर्थ, स्थानीय तह सदस्य निर्वाचन हुने दिन वैशाख ३० गते शुक्रबार सबै मतदानस्थल तथा मतदानकेन्द्रहरूमा उपरोक्त अनुसारको व्यवस्था कडाईसाथ कार्यान्वयन गर्न गराउन सबै मतदान अधिकृत लगायत मतदान कार्यमा खटिने कर्मचारी, सुरक्षाकर्मी, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोग हार्दिक अपिल गर्दछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...