काठमाडौँ । सर्वप्रथम २००४ सालमा नेपालमा पहिलोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यो निर्वाचन नेपालको राजनीतिक इतिहासको पहिलो निर्वाचन समेत थियो । तत्पश्चाल हालसम्म अनेकौँ म्युनिसिपालिटी, नगरपालिका, गाउँ तथा नगर पञ्चायत, गाविस तथा नगरपालिका, जिल्ला सभा तथा जिल्ला विकाससमिति र स्थानीय तह निर्वाचनहरू सम्पन्न भए ।

विसं २००४ मा भएको पहिलो निर्वाचन काठमाडौँ म्युनिसिपालिटीको निर्वाचन थियो । कालक्रमिक रूपमा स्थानीय तहलाई नगरपालिका, गाउँ पञ्चायत, नगर पञ्चायत, गाउँ विकास समिति, नगरपालिका, जिल्ला पञ्चायत, जिल्ला विकास समिति आदि नामले चिनिँदै आएकोमा नेपालको संविधान जारी भएपछि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिको नामबाट स्थानीय तह संरचित छ । नेपालमा हालसम्म सम्पन्न भएका स्थानीय स्तरका सबै निर्वाचनहरूको सूची निम्नानुसार रहेको छः


नेपालको इतिहासमा पहिलो निर्वाचन कहिले भएको थियो ?
नेपालमा निर्वाचन प्रक्रियाको शुरुआत स्थानीय निकायको निर्वाचनबाटै भएको पाइन्छ । विसं २००४ जेठ ३ मा मुलुकभर निर्वाचित नगरपालिका खडा गर्ने र त्यसमा मतदानबाट प्रतिनिधि छान्ने घोषणा भएबमोजिम विसं २००४ साल जेठ २९ गते सम्पन्न भएको काठमाडौँ म्युनिसिपालिटीको निर्वाचन नै नेपालको इतिहासमा पहिलो निर्वाचन मानिन्छ ।

यसमा काठमाडौंका सहरी क्षेत्रका जनताले आफ्नो प्रतिनिधि आफैँ छान्नका लागि मताधिकारको प्रयोग गरेका थिए । यस निर्वाचनमा महिलाले पनि भोट हाल्न पाउनुपर्छ भनी श्री ३ पद्म शमशेरसमक्ष माग राखे तापनि २१ वर्ष उमेर पूरा गरेका पुरुषको नाममात्र समावेश भएको मतदाता नामावली तयार गरी सोही आधारमा निर्वाचन सम्पन्न गरिएको थियो ।

नेपालको पहिलो निर्वाचित निकाय काठमाडौँ म्युनिसिपालिटीको गठनसम्बन्धी व्यवस्था कस्तो थियो ?
काठमाडौँ म्युनिसिपालिटीलाई पूर्वमा धोबी खोला, पश्चिममा विष्णुमती, उत्तरमा महारजगञ्ज र दक्षिणमा बागमती रहेको चार किल्लाभित्र २१ वटा वडा कायम गरिएको थियो ।

प्रत्येक वडाबाट एक एक जना गरी निर्वाचित २१ जना सदस्य र सरकारले मनोनीत गर्ने १० जना सदस्य गरी जम्मा ३१ जना सदस्य रहने नगरपालिका बोर्डको व्यवस्था थियो । मनोनित सदस्यहरू मध्येबाट सभापति र निर्वाचित सदस्यहरूमध्ये बाट उपसभापति छनोट गर्ने व्यवस्था भए अनुसार गेहेन्द्र शमशेर थापा सभापति र शङ्करदेव पन्त उपसभापति छानिएका थिए ।

नेपालमा महिलाले कहिलेदेखि आफ्नो मताधिकार प्रयोग गर्न पाएका थिए ?
विसं २००७ सालपछि स्थानीय निकायलाई जनप्रतिनिधिमूलक तथा जनमुखी बनाउन नगरपालिका कानून तर्जुमा गरियो । यसबाट काठमाडौँ म्युनिसिपालिटीलाई साविकको २१ वटा वडाको पुनसंरचना गरी १८ वटा वडा कायम गरियो ।

साथै काठमाडौँ म्युनिसिपालिटीको नाम काठमाडौँ नगरपालिका कायम गरियो । सोहीबमोजिम काठमाडौँ नगरपालिकामा विसं २०१० भदौ १७ गते निर्वाचन सम्पन्न गरियो । यस निर्वाचनमा २१ वर्ष उमेर पूरा गरेका महिला तथा पुरुषको नाम मतदाता नामावलीमा समावेश गरिएको थियो ।

यसरी विसं २०१० भदौ १७ गते सम्पन्न भएको काठमाडौँ नगरपालिकाको निर्वाचनबाट नेपालको निर्वाचन इतिहासमा महिलाले उम्मेदवार बन्ने र मताधिकार प्रयोग गर्ने अवसर प्राप्त गरेका हुन् ।

नेपालको प्रथम निर्वाचित महिला जनप्रतिनिधि को हुन् ?
नेपालको प्रथम निर्वाचित महिला जनप्रतिनिधि साधनादेवी प्रधान हुन् । उनी विसं २०१० साल भदौ १७ गते सम्पन्न काठमाडौँ नगरपालिकाको निर्वाचनमा वडा नं ८ बाट उम्मेदवार भई निर्वाचित भएकी थिइन् । उक्त निर्वाचनमा वडा नं ८ मा कूल ४ हजार १ सय १३ अर्थात् ५३ प्रतिशत मत खसेको थियो । जसमध्ये २ हजार ४ सय ५५ अर्थात् खसेको मतको ५९ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी साधनादेवी प्रधान निर्वाचित भएकी थिइन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...