काठमाडाैँ । यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमाललेको तर्फबाट पोखरा महानगपालिकाको मेयरको प्रत्यासि कृष्ण थापाले पोखरेली जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटि पोखरा १७ द्धारा विरौटामा आज आयोजित उम्मेदवार परिचय एवम् वृहत आमसभामा बोल्दै उनले सुशासनयुक्त छिटो छरितो सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने विश्वास व्यक्त गरे । पोखरालाई विश्वको उत्कृष्ट सहरको रुपमा परिचित गराउन पोख्रेली जनताको साथ र सहयोग अपरिहार्य हुने विश्वास व्यक्त गर्दै उम्मेदवार थापाले भने प्राकृतिक सम्पदानको संरक्षण गर्दै पर्यटनमैत्री विकास निर्माणमा जोड दिइने छ ।
नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका उनले घोषणापत्रमा गरिएका प्रतिवद्धता अक्षरस पालना गर्ने विश्वास व्यक्त गरे । नेकपा एमाले स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री खगराज अधिकारीले परमादेशबाट बनेको गठबन्धन सरकार विकास विरोधी भएको बताए । गठबन्धनलाई नेपाली जनताको बलले परास्त गर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचनमा सूर्य ध्वजावाहक उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई संगठित भएर अघि बढ्न आग्रह गरे । उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले महानगरले पाँच वर्षको अवधिमा विकास न्याय र सुशासनका साथै विकास निर्माणमा जोड दिंदै आएको बताए ।
खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले सम्पन्न भएको कार्यको निरन्तरता र अधुरा योजना सम्पन्न गर्नका लागि पार्टीले आफुलाई पुन उपमेयरको रुपमा अघि बढाएको स्पष्ट पारे । नेकपा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले मुलुकको स्वाधिनता र आर्थिक समृद्धिका लागि सूर्यध्वजावाहक उम्मेदवारलाई विजय गराउनु पर्ने आवश्यकता औल्याउनुभयो । पोखरा १७ का वडाअध्यक्षका उम्मेदवार राधिका शाही योगीले निर्वाचन प्रतिवद्धता पत्रका आधारमा विकास निर्माणका कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै महिला सशक्तिकरणमा जोड दिइने विश्वास व्यक्त गरिन् ।
पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले वडामा पाँच वर्षको अवधिमा चार अर्व भन्दा बढीको विकास निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । एमाले वडा नं १७ का अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश उपसचिव रश्मि आचार्य, वडाका उपाध्यक्ष लालबहादुर राना, उपसचिव उत्तम सिग्देल लगायतले विजय हासिल गर्न संगठित भएर निर्वाचन केन्द्रीत हुनु पर्नेमा जोड दिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...