काठमाडैँ । स्थानीय तह निर्वाचन अन्तर्गत मुस्ताङका छ वटा वडामा एकल उम्मेदवारी परेको छ ।  लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ ।

लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताए । वडा नं १ को अध्यक्षमा  नेकपा (एमाले) का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल उम्मेदवारी परेको छ । वडा नं ३ को अध्यक्षमा एमालेका झ्याब्याङ तेञ्जिङ गुरुङसहित दुई सदस्य र नेपाली कांग्रेसबाट एक सदस्य निर्विरोध भएका छन् । वडा नंं ४ को वडाध्यक्षमा एमालेका झियानछुसाङ गुरुङको मात्र उम्मेदवारी दर्ता भएको छ ।

लोघेकरको वडा नं २ र ५ मा कांग्रेस र एमालेले सबै पदमा मनोनयन दर्ता गरेका छन् । चारवटा वडामा दलित महिला सदस्यमा उम्मेदवारी परेको छैन । घरपझोङ गाउँपालिका–१ मा कांग्रेसका आशबहादुर थकाली र २ मा कांग्रेसका मानबहादुर हिराचनको एकल उम्मेदवारी परेको छ ।

घरपझोङको वडा नं ५ मा एमालेका प्रदीप थकालीको एकल उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दाबी–विरोधलगायत प्रक्रिया पूरा भएपछि मात्र एकल उम्मेदवारी परेको ठाउँमा निर्विरोध घोषणा गर्ने जनाएको छ । घरपझोङको १, २ र ५ मा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाबीच तालमेल भएको हो ।

माओवादीका उम्मेदवार निर्विरोध

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा (माओवादी केन्द्र) का एक वडा सदस्य निर्विरोध हुनुभएको छ । माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष समेत रहनुकी सीताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्विरोध हुनुभयाे । धवलागिरी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले १ नं वडाको महिला सदस्य पदमा छन्त्यालको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताए ।

छन्त्याल निर्विरोध भएसँगै  माओवादीले स्थानीय तह चुनावमा मतदान नहुदै म्याग्दीमा खाता खोलेको छ । छन्त्याल निर्विरोध हुने जिल्लाको एक मात्र उम्मेदवार बन्नु भयाे । धवलागिरिको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उम्मेदवारी परेको छ । मुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राति ११ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र वडा सदस्यमा ५३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भोलाराज रेग्मीले बताए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...