काठमाडौँ - पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई लिएर दबाबमा छन् । 

एमसीसीले आर्थिक अनुदान संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको यसै महिनाको सुरुवातमा विज्ञप्ति निकालेर बताइरहँदा देउवामाथि थप दबाब परेको बुझ्न कठिन छैन । तर गठबन्धन सरकार भएका कारण र संसदमा आफ्नो दल कमजोर हुँदा देउवाले चाहेजस्तो सहज परिस्थिति भने छैन । 

उनले गत साताको आइतबार सर्वदलीय बैठक राखेर एमसिसी संसदमा लैजाने चाहना राखेका थिए । तर सत्ता गठबन्धनका प्रमुख दुई सहयात्री नेकपमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका साना दलको विरोधका कारण त्यसबारे देउवा रक्षात्मक बन्न पुगे । 

गठबन्धनले एमसिसीबारे अध्ययन गर्न र साझा धारणा बनाउनका लागि तीन सदस्यीय कार्यदल गठन गरेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका एक एक जना सदस्य रहेको उक्त कार्यदलबाट पनि आफूले चाहेजस्तो सुझाव आउनेमा देउवा विश्वस्त छैनन् ।

तत्कालीन नेकपा हुँदा एमसिसी अध्ययन गर्न गठन भएको कार्यदलका प्रमुख झलनाथ खनाल अहिलेको कार्यदलमा पनि नेतृत्वकर्ता रहेका छन् भने अर्का सदस्य माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् । त्यसैले पनि गठबन्धनबाट एमसिसी यही अवस्थामा पास हुने निर्णय आउनेमा उनी ढुक्क छैनन् । त्यसैले उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि 'दबाब' बढाउन खोजेका छन् । 

प्रचण्डलाई फुर्क्याएर दिएको दबाब !

आइतबारबाट काठमाडौंमा सुरु नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा अतिथिको रूपमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए । 

कार्यकारी पदमा रहेर गरेको नेतृत्वको आलोचना भए पनि देउवाको खुबीलाई नेपाली राजनीतिमा मान्नै पर्ने हुन्छ । उनले समय र परिस्थिति अनुसार मिलाएर लैजान जानेका छन् । झुक्न जानेका छन् । फुर्‌क्याउन जाने छन् । 

उनै देउवाले माओवादीको महाधिवेशन उद्घाटनमा त्यस्तै गरे । माओवादी 'सुप्रिमो' प्रचण्डको उनले गुणगान गाए । खुसी भएका माओवादी कार्यकर्ताले परररर ताली पिटे । देउवाले ठिक भने भन्दै उनीप्रति सदासयता दर्शाए । 

उनले माओवादी र प्रचण्डकै कारण देशमा संविधान सभाको चुनाव भएको र गणतन्त्र आएको भन्दै प्रचण्डलाई उचाइमा पुर्याउँदा माओवादी नेता कार्यकर्ताको छाती चौडा भयो । 

‘पुष्पकमल दाहालले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको छ । शान्ति प्रक्रियामा आउदा संविधानसभाको निर्वाचन उहाँको सर्त हो,’ देउवाले भनेका थिए, ‘उहाँको बलले संविधानसभामा हामीहरू गएका हौं । यस मानेमा संविधानसभाबाट संविधान बनाउने कुरा भएको हो ।’

नजिकिँदै गरेको तीन तहको निर्वाचनमा देउवा (कांग्रेस) को फेर समाएर गठबन्धनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई 'देखाइदिन' खोजिरहेका प्रचण्ड र माधव नेपाललाई आस्वस्त पार्दै देउवाले गठबन्धनको कुरा उठाए । 

माओवादीका नेता कार्यकर्तालाई पनि आफूहरूको संगठन कमजोर भएको र चुनावी मत आफ्नो पक्षमा एक्लाएक्लै भिड्दा कम आउँछ भन्ने थाहा भएको अवस्थामा देउवाले चुनाव भन्दा परैसम्म गठबन्धन जाने भन्दै सकारात्मक सन्देश सञ्चार गरे । 

‘यो  संसद् बचाउने गठबन्धन हो । यो पूरा समयसम्म चल्नेछ’ उनले भने  ‘म अझै के चाहन्छु, गठबन्धन अझै लामो समय जाओस् । यो केपी शर्मा ओलीविरुद्ध पनि होइन ।’

यसै भन्दै गर्दा देउवा उपयुक्त समयको खोजीमा थिए । र, प्रचण्डमाथि उनकै कार्यकर्ताको सामुन्ने दबाब दिन बुझिने गरि एमसिसीबारे बोले । 

‘एउटा कुरा मैले यहाँ बोल्नै पर्ने भयो यहाँ, एमसिसी राष्ट्रघाती भनेको हुनाले । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसिसी राष्ट्रघाती भन्दियो’ उनले भने । 

‘राष्ट्रघाती भन्नेले त्यो पनि पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्यो एमसिसी कहाँ छ राष्ट्रघाती ? मैले हेर्दा कहि राष्ट्रघात देखेको छैन ।’ उनले आफू पनि नेपालको प्रधानमन्त्री भएको भन्दै प्रश्न गरे ‘म राष्ट्रको खिलाफमा जाउँला ? म पनि राष्ट्रका लागि लडेको मान्छे । त्यसकारण तपाईंहरू पढ्नुस्, अध्ययन गर्नुस् ।’

‘हामी छलफल गरिरहेका छौँ । नेपालको हितमा छ । सित्तै आएको पैसा हो । चाहिन्न भन्छन् । एडीबीको ऋण लिन्छौँ । एमसीसीका बारेमा राम्रोसँग बुझ्नुपर्छ । यसमा सहमति भएर हामी छिट्टै पास गराउने छौँ,' प्रधानमन्त्री देउवाले भने । 

देउवाले उचाल्दा 'डाइनामिक',  एमसिसी व्यक्तिगत !

देउवापछि बोलेका अध्यक्ष प्रचण्डले कार्यक्रममा आएको भन्दै सवैको तारिफ गरे । एमालेसँग एकता गरेर आफूहरूले गल्ती नगरेको भन्दै एमाले महासचिवको समेत तारिफ गरेका प्रचण्डले सबैभन्दा मुक्तकण्ठले देउवाको प्रशंशा गरे । किनकी केही मिनेट अघि देउवाले प्रचण्डको लगभग 'देवत्वकरण' गरेका थिए । त्यसबाट प्रचण्ड खुसी रहेको प्रस्टै देख्न सकिन्थ्यो । 

प्रचण्डको भाषणले पनि त्यसलाई पुष्टि गर्थ्यो । दंग परेका प्रचण्डले भने ‘संक्षिप्त बोल्ने प्रधानमन्त्रीजीले आज बढो सुन्दर बोल्नु भएको लाग्यो । कस्तो मिठो बोल्न सक्या ! उहाँ मान्छे बडो सोझो जस्तो पनि, इन्नोसेन्ट हो कि जस्तो पनि लाग्यो । सजिलै भन्दिनुभो, यो सबै प्रचण्डले नै गर्दा भाको हो है, नत्र हुन्थेन । तर, ठूलो स्टेटमेन्ट दिनुभो । म प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

प्रचण्डले देउवालाई थप प्रफुल्लित पार्न खोजे । ‘तपाईंले इतिहासका खास खास मोडमा ठुल्ठूला स्टेटमेन्ट दिनुभएको छ । हामी शान्ति प्रक्रियामा आउने तयारी गर्दै थियौँ । उहाँले भनिदिनुभयो– प्रचण्ड एउटा बहादुर नेता हो नेपालको,’ प्रचण्डले भने, ‘म युद्ध गरिराखेको छु, उहाँ प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीले विद्रोहीलाई बहादुर नेता भन्दिनुभो । बडो सहज ढंगले भन्नु भो तर त्यसको जबर्जस्त प्रभाव देशमा पर्यो । प्रधानमन्त्रीजस्तो हैसियतको नेताले विद्रोही जस्तो नेतालाई बहादुर ? सानो कुरा होइन ।’

प्रचण्डले देउवालाई अनुभवी र खारिएको नेता भन्दै अगाडि भने ‘मलाई अलिअलि डर लागेको छ कांग्रेसभित्र अलिअलि आलोचना खेप्नु पर्ने त होइन ? तर मलाई लाग्छ धेरै अनुभव हासिल गरिसक्नु भएको छ, सानातिना आलोचना र विरोधले उहाँको छाला धेरै दह्रो भइसकेको छ ।’

तर, प्रचण्डले जवाफ दिनु पर्ने एउटा अप्ठेरो उत्तरको अपेक्षा देउवाले गरिरहेका थिए । एमसिसीबारे आफूले बोलेको विषयमा कार्यकर्तामाझ प्रचण्ड कसरी प्रस्तुत हुनेछन् भन्ने विषयमा सादय उनको चासो थियो र त्यसैका लागि उनले भाषणमा सोच विचार गरेर उक्त विषयबारे बोलेका थिए । 

देउवाले अन्य विषयको चर्चा गरेका प्रचण्डमाथि नैतिक रूपमा दबाब बढाएका थिए । कहाँ छ राष्ट्राघात देखाउ भन्दै देउवाले पढ्न भनिसकेका थिए । आफू देशको प्रधानमन्त्री रहेको र लोकतन्त्रका लागि लडेको मानिसले राष्ट्रघात गर्छ ? भन्दै देउवाले प्रश्न नै राखिसकेपछि प्रचण्ड जवाफ दिन सहज थिएन । प्रचण्डले जोगिने सहज बाटो खोजे एमसिसीबारे देउवाको निजी विचार भनेर । 

'प्रधानमन्त्रीजीले एमसीसीबारे आफ्नो विचार भन्नुभयो । तर, उहाँले कहाँ हो राष्ट्रघाति भएको देखाइ दिनु भन्नुभयो । छलफल गर्दैछौँ भनेर पनि भन्नुभएको छ । प्रधानमन्त्रीको यो अभिव्यक्ति पनि राम्रो नै आएको छ ।’ 

देउवाले राष्ट्रघात भए देखाउन, नभए पास गर्न सहयोग गर्नुपर्ने दबाव प्रचण्डमाथि प्रस्ट रूपमा दिएका छन् । प्रचण्ड माधवलाई एमसिसीकै विषयले गर्दा कतै देउवा ओली तिर निकट हुने र आफूहरू चुनावको मुखैमा किनारा पर्ने त होइन भन्ने त्रासलाई बुझेका उनले सार्वजनिक रूपमा नै गठबन्धनका दुई नेता प्रचण्ड र माधव नेपालमाथि दबाब बढाएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...