काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका संसदमा लैजाने भएका छन् । त्यसका लागि उनले पार्टीका एक मन्त्री सहित दुई नेतालाई सभामुखसँगको परामर्श गरी वातावरण निर्माणका लागि जिम्मेवारी समेत दिइसकेका छन् । अर्का एक मन्त्रीलाई एमाले अध्यक्ष केपी ओलीसँग वातावरण निर्माणमा परिचालन गरेका छन् ।

गठबन्धनका नेताहरू (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई उनले संसदमा अनुदान सम्झौता अनुमोदनका लागि लैजाने तर गठबन्धनमा रहेका दलका नेतालाई यस विषयमा स्वतन्त्र निर्णय गर्न पाउने गरी पास फेल जे गरेपनि गठबन्धनमा कुनै समस्या नरहने बचन दिएको स्रोतले बताएको छ ।

त्यसै आधारमा उनले सञ्चारमन्त्री समेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाललाई संसदमा लैजाने वातावरण निर्माणको जिम्मा दिएका छन् ।

उनीहरूले देउवाको त्यस्तो निर्देशनपछि सभामुख अग्नि सापकोटासँग मंगलबार सभामुखको कार्यकक्षमा पुगेर भेटवार्ता समेत गरिसकेका छन् । सभामुख सापकोटा भने यो विषय विवादमा रहेका कारण देशभित्रका राजनीतिक दलहरूका बिचमा सहमति गरेर मात्र अगाडि बढनुपर्ने पक्षमा छन् ।

देउवा भने एकपटक संसदमा लैजाने तर पास-फेल जे भएपनि संसदमा अधिकार दिनुपर्ने पक्षमा उभिएका छन् ।

प्रचण्ड र नेपाल भने यस विषयमा संसोधन विना परित गर्न नसक्ने अडानमै छन् । एमाले अध्यक्ष केपी ओली सरकारमा रहँदा जसरी पनि पारित गर्नुपर्ने पक्षमा उभिएका थिए । तर प्रतिपक्षमा पुगेपछि भने उनले पहिले सरकारले संसदमा टेबुल गर्न ल्याएपछि मात्र यस विषयमा पार्टीले निर्णय लिने बताउन थालेका छन् । ओलीले मौनता साधेका कारण पनि देउवा संसदमा अनुदान सम्झौता लैजान सके पारित हुने विश्वासमा छन् । पारित नभएपनि प्रधानमन्त्री देउवाले प्रयास गरेपनि अन्य दलका कारण सम्भव नभएको सन्देश अमेरिकामा पुग्ने र आफनो सम्बन्ध अमेरिकासँग समधुर रहिरहने विश्वासमा देउवा छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...