काठमाडौ - नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।
मतदानको समय साँझ ५ बजेसम्म ताेकिएकाे छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसका ४ हजार ७ सय ४३ मतदाता सहभागी हुँदैछन् । कांग्रेसले १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १३४ जना नेता छान्न निर्वाचन गर्न लागेको हो ।
सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । सभापति पदका लागि ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ । एक जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य पछि मनोनीत गर्ने व्यवस्था कांग्रेसमा छ ।
काठमाडौंको भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ । पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भएपश्चात् सभापति पदको मतगणना हुनेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...