काठमाडौँ- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । साथै एशोसिएसनले जबराले राखेको वार्ता प्रस्ताव अस्वीकार गरेको छ ।
बार महासचिव लीलामणि पौडेलले आइतबार सर्वोच्च अदालत परिसरमा दंगा प्रहरी प्रयोग गरेर अदालतकै परिवार कानुन व्यवसायीमाथि चरम दमन भएको बताएका विरुद्धमा आफूहरूले आन्दोलनलाई थप कडा पार्न लागेको बताएका छन् ।
'हामीमाथि प्रहरी दमन भएको छ । प्रहरीका बुट प्रहार भएका छन् । त्यसविरुद्ध आइतबार देशभरका सबै अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेक सबै मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका छौं । यो प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि भएको दमनका विरुद्धमा हो । सोमबारबाट हाम्रा नियमित पुरानै आन्दोलनका कार्यक्रमले निरन्तरता पाउने छन्', उनले भने ।
उनका अनुसार सोमबार संसदमा सरिक सबै दललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको छ। मंगलबार देशभरका सबै अदालतमा अन्तिम हदम्याद भएको मुद्दा बाहेक अरू कुनै पनि मुद्दा मामिलालगायत कुनै पनि काम नगरिने उनले बताए ।
उनले बुधबार देशभरका १८ वटा उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पठाएर त्यो अदालतका क्षेत्राधिकार भित्रका अरू अदालतका कानुन व्यवसायीलाई एकै ठाउँमा भेला पारेर वृहत् विरोध सभा कार्यक्रम आयोजना गरिने बताएका छन् । बिहीबार र शुक्रबार भने काठमाडौँ केन्द्रित आन्दोलनलाई सशक्त बनाइने बताएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...