काठमाडौँ- सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीसहितको नियमावली पास गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु समेत बिहीबार फुल कोर्ट बैठकमा सहभागी थिए ।

गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको फुल कोर्ट बैठकमा राणा भने सहभागी थिएनन्।

सर्वोच्चका १९ जना न्यायाधीश सहभागी बैठकले सर्वोच्चको नियमावली संशोधन गरेर गोलाप्रथा लागू गर्ने निर्णय गरेको र उक्त निर्णय मुख्य रजिष्टारमार्फत् प्रधानन्यायाधीश राणा समक्ष पठाइने छ।

प्रधानन्यायाधीश राणाबाट उक्त कार्यविधि अनुमोदन गरेर कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि गोला प्रणाली लागू गर्ने व्यवस्था कार्यान्वयनका लागि कानूनी आधार हुनेछ । 

राजपत्रमा सूचना प्रकाशित भएपछि प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरुले पनि मुद्दा हेर्ने समझदारी बनेको बताइएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...