काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै भएको नेपाल बार एसोसिएसनको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको दाबी गरिएको छ । 

बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन गरेको छ । सर्वोच्चको गेट नै बन्द गरिएको छ भने आन्दोलित कानुन व्यवसायीलाई गेट बाहिर रोकिएको छ । 

प्रधानमन्त्री देउवाबाट गृहमन्त्री र प्रहरी महानिरीक्षलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन आएको बार महासचिव लिलामणि पौडेलले जानकारी दिए । 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले प्रधानमन्त्रीसँग कुरा गरेर गृहमन्त्री र महानिरीक्षकलाई हस्तक्षेप नगर्न भनेको महासचिव पौडेलले बताए । 

शान्तिपूर्ण आन्दोलन गर्न र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नहुने सरकारबाट प्रतिबद्धता आएको उनले बताए ।  सर्वोच्चको गेट बन्द गरिएकोबारे सर्वोच्च प्रशासनलाई भनेर खोल्न लाउने मन्त्री बडूले प्रतिबद्धता जनाए । 

आन्दोलनलाई सम्बोधन गर्ने क्रममा महासचिव पौडेलले प्रधानन्यायाधीश जबरालाई चुनाव लडेर प्रधानमन्त्री र राष्ट्रपति बन्न चुनौती दिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...