काठमाडौँ – सार्वजिनक स्थलमा जुवा तास खेल्ने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित उच्च अधिकारीमाथि कारबाही हुने भएको छ । स्रोतका अनुसार गृह मन्त्रालयले उनीहरूमाथि कारबाहीको तयारी गरेको हाे ।

कानुन कार्यान्वयन गर्ने तहमा बसेका जिम्मेवार व्यक्तिले नै कानुन उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गर्न गृह मन्त्रालयमा आज छलफल भएको थियो । दसैँ तिहारको अवसरमा कानुन कार्यान्वयन गर्ने तहका जिम्मेवार व्यक्तिहरूले कानुन उल्लंघन गर्दासमेत सम्बन्धित सरोकारवाला निकाय चुप बसेका छन् ।

जुवातास खेल्नु कानुनविपरीतको काम हो । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि बढीमा ९ महिना कैदको व्यवस्था गरेको छ । यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेकपटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने व्यवस्था छ ।

त्यो कानुन कार्यान्वयन गर्ने निकाय जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय हो । तर, ती निकायको प्रमुख नै जुवा तास खेल्न थालेपछि कसले कानुनको संरक्षण गर्ने भन्ने प्रश्न उठेको छ । दसैँ तिहारमा जुवातास खेल्ने क्रम बढ्ने गर्छ । यसलाई नियन्त्रण गर्न प्रहरीले गस्ती गर्छन् । तर, तिनका हाकिम भने तास खेलेर दिन बिताउँछन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...