– रूपेश शर्मा 
भारतीय गोर्खा समाजका एक अग्रणी समाजसचेतक, चिन्तक, सङ्गठक तथा जातीय सङ्घर्षहरूका एक अथक योद्धा सुखमन मोक्तान अब हामीसँग छैनन् । हिजो मंगलबार उनले देहत्याग गरेका छन् । आफ्नो ७१ वर्षको जीवनकालमा उनले लगभग ५० वर्ष भारतीय गोर्खा जातिको समग्र उत्थानको पक्षमा सेवकसरह काम गरे । उनले काँधमा बोकिरहने झोलामा उनका चश्मा, डायरी, केही पत्र–पत्रिका, रुमाल र औषधिहरू मात्र हुन्थेनन् । त्यो झोलासँगै उनले बोकेका हुन्थे गोर्खा समाजका अनेकौँ समस्याहरूका भार र त्यसबाट निजात पाउने चिन्ता ।

यसो गर्न उनलाई २५–३० वर्षअघिदेखिको सुगरले पनि रोक्न सकेको थिएन । स्वचेतले समाजको ऐतिहासिक कार्यभार आफ्नो काँधमा लिएर महिनामा २५ दिन घरबाहिरै हुने, भारतभरि कुदिरहने अनि गोर्खा समाजका सपनालाई आफ्ना बुद्धि, क्षमता र साङ्गठनिक कौशलले बल प्रदान गर्ने हाम्रो समयका अग्रणी समाजसचेतक सुखमन मोक्तानको रिक्तता हामीलाई लामो समयसम्म खट्कनेछ ।


सुखमन मोक्तान, फोटोः लेखकको फेसबुकबाट


६ अक्टोबर, १९५०मा पिता माइला मोक्तान र माता दिलमाया मोक्तानका कोखमा पश्चिम डुवर्सको बाग्राकोटमा उनले जन्म लिएका थिए । डुवर्सका साधारण चिया श्रमिकका छोरोले भविष्यमा भारतीय गोर्खा समाजलाई नै मार्गदर्शन गर्लान् भनेर पछिसम्म कसैले सोच्न सकेका थिएनन् । तर, उनका निःस्वार्थ कर्म र जातिसेवाकै कारण यो सम्भव हुन सक्यो । पेशाले उनी प्राथमिक पाठशालाका शिक्षक थिए । १९७१मा नियुक्ति पाए बाग्राकोटमै; २०१०मा सेवानिवृत्त भए बाग्राकोट प्राथमिक पाठशालाबाटै । 

२९७०को दशकको प्रारम्भिक वर्षहरूमा ‘युवा कङ्ग्रेस’–मा प्रवेश लिएर उनले आफूमा राजनीतिक–चेत विकास गर्न थाले । १९७४मा डुवर्सको साहित्यिक–भाषिक–सांस्कृतिक एवं जातीय जागरणका मूल उद्देश्यबाट स्थापित डुवर्सको माउ संस्था डुवर्स नेपाली साहित्य विकास समितिका उनी संस्थापक सदस्य बने अनि पछि अध्यक्ष । भारतीय गोर्खा समाजका एक अग्रणी जातीयसचेतक, सामाजिक अभियन्ता, राजनीतिक सचेतक, ट्रेड युनियनिस्ट, कुशल वक्ता तथा डुवर्सका एक अभिभावकका रूपमा केही दशकमै उनले आफ्नो परिचय स्थापित गरे । सत्तर तथा अस्सीका दशकमा उनले थुप्रै कविताहरू लेखेर विभिन्न पत्र–पत्रिकामा प्रकाशित गरेका थिए ।

राष्ट्रिय स्तरमा जातीय जागरणका अलख जगाउने एक सचेतक थिए सुखमन मोक्तान । देशका जुन–जुन राज्यहरूमा गोर्खाहरू बसोबासो गर्छन् त्यहाँ उनी प्रायः पुगेकै थिए; उनीहरूका समस्या ‘फिल्ड भिजिट’–बाटै बुझेका थिए । यसैले प्रतिष्ठित कवि वेगवसन्त थापाले उनलाई ‘गोर्खाहरूका फा–हियान’ संज्ञा दिए । 

भारतीय गोर्खाहरूका सपनालाई टेवा दिने हरेकजस्तै जातीय, सामाजिक, सांस्कृतिक, भाषिक तथा राजनीतिक चेत बोकेका सङ्गठनहरूमा प्रायः उनी संस्थापक सदस्य थिए । नयाँ सम्भावनाका खोजी र अटुट प्रयासका पहलमा उनको निरन्तर उपस्थिति निम्न सङ्गठनमा उनको सक्रिय बौद्धिक, सङ्गठनात्मक, हस्तक्षेपकारी भूमिका र योगदानको क्रमबाट थाहा पाउन सकिन्छः 

सांगठनिक आबद्धता 

डुवर्स नेपाली साहित्य विकास समितिका संस्थापक सदस्य, पूर्व अध्यक्ष 
साहित्य सेवा समिति, बाग्राकोटका संस्थापक 
नेपाली भाषा आन्दोलनका राष्ट्रिय सङ्ग्रामी 
नेपाली अकादमी, पश्चिम बङ्गालका सदस्य
सुवास घिसिङको नेतृत्वमा चलेको डट को आन्दोलनमा लगभग डेढ वर्षसम्म डुवर्सका प्रमुख नेता
भारतीय नेपाली राष्ट्रिय परिषद् (भानेराप)–का संस्थापक सदस्य एवं केन्द्रिय कार्यकारी सदस्य 
अखिल भारतीय नेपाली भाषा समितिका केन्द्रिय संयुक्त सचिव
प्रान्त परिषद्का सक्रिय सदस्य
गोर्खाल्याण्ड टास्क फोर्सका नेतृत्वमण्डली सदस्य
गोर्खाल्याण्ड संयुक्त मोर्चाका नेतृत्वमण्डली सदस्य 
क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)–का संस्थापक केन्द्रिय सदस्य
भूटानी शरणार्थीहरूको सहयोगका लागि गठित संस्था ’सोबर’–का संस्थापक सदस्य
नेशनल गोर्खाल्याण्ड कमिटी (एनजीसी)–का नेतृत्वमण्डली सदस्य 
बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका संस्थापक सदस्य, निवर्तमान अध्यक्ष 
‘साहित्य परिक्रमा’–का संस्थापक सदस्य 
भारतीय गोर्खा परिसंघ (भागोप)–का संस्थापक सदस्य, दुई कार्यकाल (२०१६–१९, २०१९–२२) राष्ट्रिय अध्यक्ष 
संसद भवनमा सहीद दुर्गा मल्लको सालिक स्थापनार्थ भागोपद्वारा सञ्चालित राष्ट्रिय सचेतनामूलक अभियानका एक अभियन्ता 
जनसङ्घर्ष मोर्चा, डुवर्सका संस्थापक सदस्य एवं प्रमुख सल्लाहकार
डुवर्स गोर्खा सभाका संस्थापक 
चिया बगानमा पञ्चायत व्यवस्था लागू गराउने आन्दोलन ’चिया बगान पञ्चायतीकरण सङ्घर्ष समिति’–का प्रमुख अगुवा; आह्वायक
 चिया बगान सङ्ग्राम समितिका वर्तमान अध्यक्ष 

साहित्यिक आबद्धता 

७०– ८०– ९० का दशकमा भारत–नेपालका विभिन्न पत्र–पत्रिकामा दर्जनौं कविता एवं फुटकर लेखहरू प्रकाशित 
सम्पादक– ‘नायक’, ‘शिरीष’, ‘युगास्था’, ‘हाम्रो परिसंघ’ 
विभिन्न साहित्यिक संघ–संस्थाहरूको स्थापनामा मार्गदर्शकका रूपमा योगदान । 

‘डुवर्सश्री’ सम्मानले सम्मानित उनी डुवर्सका पर्यायजस्तै थिए । बद्रीनारायण प्रधानपछि डुवर्सले आफ्ना सबैभन्दा ठूला हस्ती गुमाएको छ । भारतीय गोर्खाहरूका राष्ट्रिय चिन्हारी, गोर्खाल्याण्ड राज्यको माग, भाषा–संस्कृतिको विकास अनि देशका विभिन्न भागका गोर्खाहरूका मुद्दा र सुरक्षाका विषयमा भागोपले देशका सबै स्तरका नेताहरूलाई भेट्ने अभियान नै चलाएको थियो, जहाँ उनले आफ्ना टोलीका साथमा देशका २० भन्दा अधिक मुख्यमन्त्री अनि केन्द्रिय मन्त्रीगण र नेताहरूसँग भेट गरी ज्ञापन चढाएका थिए ।


सुखमन मोक्तान, फोटोः लेखकको फेसबुकबाट


गोर्खाहरूका समस्या समाधान हेतु उनले देशका प्रधानमन्त्रीहरू मोरारजी देसाई, इन्दिरा गान्धी, मनमोहन सिंह अनि राष्ट्रपतिहरू प्रतिभा देवी पाटिल र प्रणव मुखर्जीसँग पनि भेट गरेका थिए । भारतीय गोर्खाहरूलाई राष्ट्रिय स्तरमा नेतृत्व गर्ने उनी डुवर्सका पहिलो सङ्गठक हुन् । 

राष्ट्रिय स्तरमा जातीय जागरणका अलख जगाउने एक सचेतक थिए सुखमन मोक्तान । देशका जुन–जुन राज्यहरूमा गोर्खाहरू बसोबासो गर्छन् त्यहाँ उनी प्रायः पुगेकै थिए; उनीहरूका समस्या ‘फिल्ड भिजिट’–बाटै बुझेका थिए । यसैले प्रतिष्ठित कवि वेगवसन्त थापाले उनलाई ‘गोर्खाहरूका फा–हियान’ संज्ञा दिए । 

हामी शोकमा छौं, चिन्तामा छौं, चुनौतीमा छौं । उनका मूल्याङ्कन हुँदा सुखमन मोक्तानले गर्न नसकेका कामहरूको पनि चर्चा होला । तर, जातीय उन्मुक्तिका लागि कुनै न कुनै ‘मसिहा’–को चामत्कारिक उपस्थितिको आशा गरिरहने गोर्खा समाजले आफ्ना हड्डीहरू खियाउँदै सुखमन मोक्तानहरूका ‘लिगेसी’–लाई निरन्तरता दिन सक्ला ? वा त्यसभन्दा अघि बढेर आफ्ना ऐतिहासिक कार्यभार निभाउला ? आज हामी सामु यही प्रश्न खड्किरहेको छ ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...