काठमाडौँ – संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठन गर्नका लागि लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले प्रदेश प्रमुखसँग माग राखेका छन् ।

आज सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई चार विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेताहरूले संयुक्तरूपमा हस्ताक्षरसहितको निवेदन बुझाएका हुन् । संविधानको धारा १६८ (१) अनुसार एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलले बहुमत गुमाएको भन्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठन गर्न उनीहरूले माग गरेका हुन् ।

नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका हुन् । उनी अल्पतमा परेसँगै उनीमाथि अविश्वासको प्रस्ताव समेत पेश गरिएको थियो । तर, मुख्यमन्त्री पोखरेलले आफूमाथि परेको अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि नै प्रदेशसभाको अधिवेशन अन्त्य गरी एकल बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष निवेदन दिएका थिए । तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना (सभामुख बाहेक), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना सांसदको हस्ताक्षर छ । प्रदेशसभामा हाल ८० सांसद छन् । बहुमत सांसदको हस्ताक्षर जुटाएर विपक्षी दलका सांसद प्रदेश प्रमुखसमक्ष पुगेका हुन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...