सबै नवकलाकारहरूको प्रेरणाका स्राेत अग्रज एवं वरिष्ठ कलाकार भुवन थापा ‘बहुवि’ प्रायःजसो काठमान्डौस्थित आफ्नो स्टुडियो मै साधनारत हुन्छन् ।
जीवनको तीन दशक अनवरत सृजनाकर्ममा बिताइसकेका थापा कलाका विभिन्न माध्यमहरूबाट आफ्ना मनोभाव, अनुभूति व्यक्त गर्दै आएका छन् ।
कलाकार थापानै स्वीकार्छन् कि उनी धेरै माध्यमहरूमा काम गर्न रुचाउँछन् । यसको लागि उनलाई कुनै विशिष्ट नियम या शैलीको पनि आवश्यकता पर्दैन । समय र परिस्थितिले जुराएका जुनसुकै वस्तुपनि उनका लागि कलाका माध्यम बन्न सक्छन् । यसको लागि उनी परम्परागत र नवीनतम दुवै माध्यम र शैली अपनाउन सक्छन् । त्यसो त उनलाई सोच, विषयवस्तु, प्रस्तुतिको शैली एवं माध्यममा पनि विविध प्रयोग गर्न मन पर्छ ।
कोरोनाको महामारीका कारण सिर्जित लकडाउनका दौरान केही समय कलाकार थापाले आफ्नाे गाँउघरमा बिताएका छन् । त्यतिखेर स्थानीय गाउँठाउँकै सामग्रीहरूको प्रयोगमा समुदायलाई नै संलग्न गराउँदै थापाले नवीन प्रयोगको प्रतिस्थापन कला सिर्जेका छन् । सामान्य बाँस र चोयाबाट सिर्जित ती प्रतिस्थापन कला निक्कै नै रोचक छन् ।
यो माध्यमको प्रतिस्थापन कलालाई थापाले ‘प्रकृति र कला’ शीर्षक दिएका छन् । र, त्यसको सिर्जना–गर्भको बारेमा कलाकार थापा भन्छन्, ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी भित्र एकान्तबासमा बसेर मैले समुदायमा आधारित अर्थात् डोको बुन्ने स्थानीय परम्परागत उपयोगी सीपबाट प्रभावित भई त्यसैलाई ललितकलाको रूप दिने प्रयत्न गरेको छु ।
मबाट तयार भएका उक्त कामलाई यसै गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ स्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नेपालको १०० गन्तव्य क्षेत्र मध्ये एक पर्यटकीय स्थल सत्यवती लेकमा सिउरिने धृष्टता पनि गरेको छु ।
यसरी प्रस्तुत गर्नुको एउटै मात्र ध्येय भनेको प्रकृतिसँग कला र कलासँग समुदायलाई जोडेर हेर्ने अभिलाषा हो । परिणाममा यस महामारीले पारेको शारीरिक तथा मानसिक तनावबाट मुक्ति दिने आत्मिक औषधि प्राप्त गर्न सकियोस् भन्ने कामना एवं प्रकृति, कला र समुदायको चुल्ठीबाटी सम्बन्धलाई देखाउनु पनि यस प्रदर्शनीको अर्को उद्देश्य हो ।
हुनत मेरो यस प्रस्तुतिले कुनै सापेक्षित अर्थभाव बोकेको नहुन सक्छ । प्रिय दर्शकहरुमा पर्ने आत्मगत अनुभूति नै यसको अर्थभाव हुनेछ भन्ने ठान्दछु ।’
प्रस्तुत छ, वरिष्ठ कलाकार भुवन थापा ‘बहुवि’को नवीनतम प्रयोग ‘प्रकृति र कला’:
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...