काठमाडाैँ । बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता जनाएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको प्रश्नमा आयोजना प्रमुख कुलप्रसाद पौडेल र लिफ्ट खानेपानी आयोजना निर्माण गरिरहेको ठेकेदार कम्पनीका प्रमुख वृहस्पति गौतमले उक्त प्रतिबद्धता जनाएका हुन ।

लामो समयदेखि अलपत्र परेको आयोजना समयमै पूरा नहुँदा नगरक्षेत्रमा पानीको समस्या भएपछि नगरपालिकाले चासो दिएको हो । “जनताले छिटो र गुणस्तरीय पानी खान पाउनुपर्छ” नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने,“कुनैपनि बहानामा ढिला गरिने काम स्वीकार्य छैन ।” उनले पुस मसान्तपछि एक दिन पनि जनताले कुर्न नसक्ने समेत बताए । 

ठेकेदार गौतमले भने इलेक्ट्रोनिक्स सामग्री एलसी खोलेर ल्याउनुपर्ने भएकाले राज्यका निकायले एलसी खोल्ने काममा साथ दिनुपर्नेमा जोड दिए । “कतिपय अवस्थामा एलसी खोल्न र सामग्री ल्याउने काममा भन्सारमा समस्या हुन्छ, त्यसैले सरकारी निकायले सहजीकरण गरिदिनुपर्छ” उनले भने, “काम ८० प्रतिशत सकिएको छ, अब सामान फिटिङ र रङगरोगनको काम मात्र भएकाले समयमै सम्पन्न गर्न सकिन्छ ।” ठेकेदार गौतमले एलसी खोलेपछि तीन महिनामै सामान ल्याउन सकिने बताए ।

आयोजना प्रमुख पौडेलले ढिला भए ठेकेदारलाई कारबाही गरिने बताए । उनले कानुनीरुपमा कारबाही गर्नपर्ने स्थिति सिर्जना नभएसम्म दबाब मात्र दिन सकिने बताए । “अब भने कानुनी रुपमा कालो सूचीमै राख्न सकिने अवस्था आउँछ” उनले भने, “भौगोलिक कठिनाइका कारण  कतिपय काम ढिला भएको हो ।” बानपा–३ को कैलाम पोखरीबाट लिफ्टमार्फत भीरलाकुरी लगेर बजार क्षेत्रमा पानी खुवाउने योजना छ ।

बागलुङ बजारमा हाल वितरित पानी धमिलो र गुणस्तरहिन भएकाले उपभोक्ताले विरोध गर्दै आएका छन् । स्वच्छ पानीका लागि आन्दोलन गरेका उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए पछि  प्रशासनले स्वच्छ पानी खुवाउनका लागि पहल गर्दै उपभोक्ताको हितमा काम गर्न समितिलाई निर्देशनसमेत दिएको छ ।

सदरमुकामदेखि झण्डै १२ किमी पश्चिमको भुँदीखोला र रेशखोलाबाट ल्याइएको पानी बागलुङ बजारमा वितरण गरिएको छ । उक्त पानीको पाइपलाइन पटक–पटक बिग्रेर मर्मत गर्दा लामो समयसम्म बजारमा खानेपानी अभाव हुँदै  आएको छ । हाल पानी आइरहेको मुहान खुला भएको र पहाडी क्षेत्रबाट आउने भल सोझै पस्ने भएकाले धमिलो पानी आउने समितिका उपाध्यक्ष नीरज शाक्यले बताए ।आइतबार नगरप्रमुख श्रेष्ठ सहितको टोलीले पानीको मुहान अवलोकन गरेर तत्काल सफा पानी खुवाउने अवस्था सिर्जना गर्न समिति, प्राविधिक र आयोजना समेतलाई आग्रह गरेका थिए ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...