काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ ।

गएको कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल टेलिकमलाई अनुमतिबिना ९७४ मा आधारित जिएसएममा आधारित नम्बर बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।

टेलिकमले यसअघि सिडिएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो ।

त्यसमध्ये ९७४ मा आधारित भएर जिएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको हो ।

यस्तै सञ्चालक समितिले टेलिकमलाई पुनःनम्बर परिवर्तन गर्दा ग्राहकमा पर्न जाने असरलाई मध्यनजर गर्दै ९७४ बाट हाल वितरण भइसकेको नम्बरको अलावा थप नम्बर वितरण नगर्न निर्देशन दिएको हो ।

सिडिएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सिडिएमएबाट जिएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ । नेपामा हाल करिब तीन लाख २० हजार सिडिएमए प्रयोगकर्ता छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...