अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ सुनारकोटका मृगौला पीडित राजकुमार सुनारले आफ्नो जीवन रक्षाका लागि अपिल गरेका छन् ।

दुवै मृगौला फेल भएर हाल डायलासिसको भरमा बाँचिरहेका सुनारले आर्थिक अभावका कारण अपरेसन गर्न नसक्दा उपचारमा समस्या भएको बताएका हुन् । मृगौला प्रत्यारोपरण गर्नका लागि करिब ५ लाख रकम अझै आवश्यक भएकाले आफूसँग भएको पैसा ९ वर्षदेखि उपचार गर्दागर्दै सकिएकोले उपचारमा समस्या भएको बताए । विसं. २०७२ देखि मृगौला रोगबाट ग्रसित सुनारका दुवै मृगौलाले काम गर्न छोडेको ४ वर्ष पूरा भइसकेको छ । 'मलाई मृगौला दिन मेरो आमा तयार हुनुहुन्छ तर पैसा नभएर अपरेशन रोकिएको छ, अहिले सम्म उपचारका क्रममा लगभग एक्काइस बाइस लाख रकम खर्च भइसक्यो । आफूसँग भएको सबै पैसा पनि सकियो के गर्ने होला', उनले मलिन अनुहार लगाउँदै भने ।

सुनारले आफ्नो उपचारका लागि विभिन्न ठाउँबाट सहयोग पाएको भए पनि रकम एकमुष्ट नआउँदा मृगौला प्रत्यारोपण गर्नका लागि चाहिने पैसाको जोहो गर्न नसकेको बताए । सत्ताइस वर्षिय सुनारले आफूले सक्ने जति सहयोग गरिदिनका लागि सबैलाई अपिल समेत गरेका छन् । उनले मृगौलाले काम गर्न छोडेपछि २०७४ सालदेखि पिसाब समेत फेर्न नपाएको दुःखेसो समेत सुनाए ।

'मैले चार वर्षदेखि पिसाब पनि फेर्न पाएको छैन । हप्ताको दुई दिन डायलासिस गर्नुपर्छ, साह्रै पीडा भइरहेको छ ।' सुई घोच्दाघोच्दै हात पनि काम नगर्ने जस्तै भइसक्यो उनले हात देखाउँदै भने । डायलासिसको भरमा धेरै दिन बाँच्न कठिन हुने भएकाले चिकित्सकले पनि जति सक्दो चाँडो अपरेशन गर्न सुझाएको सुनारले बताए । घरमा पैसा कमाउने कोही नभएको बताउँदै उनले भारतमा नोकरी गर्दै आएका उनका भाई पनि कोरोनाका कारण जागिर गुमाएर अछाममै फर्किएको र बुबा आमा विगतदेखि सामान्य खेतीपाती गर्दै आएकाले आम्दानीको अन्य स्रोत नहुँदा सहयोग चाहिएको बताए । मृगौला पीडित सुनार हाल भक्तपुरमा रहेको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहेका छन् । 

सहयोगका लागि मृगौला पीडित राजकुमार सुनारको 
बैंक खाता नम्बर ०१८००५०१२०८८२४
एभरेस्ट बैंक लिमिटेड चाबहिल, काठमाडौँ
सम्पर्क नम्बर ९८२३८२३५९२  

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...