चितवन- निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो ।
फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको हो ।
सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ । महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रङगशालाका लागि उपलब्ध गराएको हो ।
आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रङगशाला निर्माणको काम हुनसकेको छैन ।
रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दाबी गरेको छ । रङ्गशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको यसअघि नै फाउण्डेशनले दाबी गरेको थियो । रङ्गशाला सम्पन्न गर्न तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...