तेह्रथुम – हातमा सिप नहुँदा सामान्य खर्चसमेत श्रीमानकै भर पर्नु पर्छ महिलाहरुलाई । सिप नभएकै कारण घरयासी काम र मेलापर्ममा रमाउनुपर्ने बाध्यता अझै हटेको छैन । तर, तेह्रथुमको लालिगुराँस नगरपालिका–८ सोल्माका महिलाहरू ढाका बुनाइसम्बन्धी सिप पाएसँगै व्यावसायिक बन्न थालेका छन् ।
गरिबी निवारणका लागि लघु उद्यम विकास मेडपाले सञ्चालन गरेको ढाका बुनाइ तालिममा सिप पाएसँगै यहाँका महिलाहरू व्यावसायिक बन्न थालेका हुन । ‘महिलाहरुले केही पनि गर्न सक्दैनन् भन्ने परम्परालाई तोड्दै सिप लिन सके महिला व्यावसायिक बन्न सक्ने विश्वास छ’, अनु राना मगरले बताइन् ।
तेह्रथुमे ढाकाले परिचित बनेको यो व्यावसायमा बजारको समस्या छैन । लालिगुराँस नगरपालिकाको सहयोगमा सञ्चालन भएको तीन महिने तालिममा १० जना महिलाहरुले सिप लिएका थिए । सिप पाएपछि यहाँका महिलाहरु यतिबेला घरमै व्यावसाय सुरु गर्न थालेका नगरपालिकाका उपप्रमुख तिला पोखरेलले बताइन् ।
यहाँ उत्पादन भएको ढाका स्वदेश तथा विदेशका विभिन्न मुलुकहरूमा खपत हुँदै आएको छ । ग्रामिण क्षेत्रका महिलाहरुलाई व्यावसायिक बनाउने उद्देश्यकासाथ सिप प्रदान दिँदै आएको उपप्रमुख पोखरेलको भनाइ छ ।
ग्रामिण क्षेत्रका महिलाहरुलाई व्यावसायिक बनाउने उद्देश्य साथ विभिन्न सिपहरू प्रदान गर्दै आएको मेडपाका कार्यक्रम संयोजक छात्र श्रेष्ठले बताए । सिपलाई निरन्तरता दिँदै व्यावसायिक बन्न सके महिलाहरूले घरमै बसेर राम्रो आम्दानी लिन सक्नेछन् । आर्थिकरूपमा विपन्न परिवारका महिलाहरूलाई स्थानीय सरकारले दिएको सिपले जीविकोपार्जन गर्नसमेत सहज बन्ने छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...