जीवन र जगतसँग सम्बन्धित अनेकौँ रहस्यहरूबाट पर्दा उठिसकेको छ । तथापि अनेकौँ रहस्य आज पनि नसुल्झिएकै अवस्थामा छन् । केही रहस्यहरू भने उद्घाटित भएर पनि आम मानिसहरू मान्न तयार छैनन् । केही भने समयक्रमसँगै मान्छेहरूले मान्दै गएको पनि देख्न सकिन्छ । 

यीमध्ये एउटा रहस्य मानिस र जीवजन्तुको उत्पत्तिसँग सम्बन्धित छ । आज हामीमध्ये धेरै जनालाई मानव उत्पत्तिको सिद्धान्तको कुरा आउँदा डार्बिनको क्रमिक विकासको सिद्धान्त स्मरण हुन्छ । त्यसैको आधारमा हामी भन्छौँ, हाम्रा पुर्खा बाँदर थिए । 

समय-समयमा पृथ्वीमा देखिएका आरोह-अवरोह वा प्राकृतिक रूपमा आएका परिवर्तन सँगसँगै मानिसको उत्पत्ति भएको मानिन्छ । डार्बिनको यहीँ सिद्धान्त क्रमिक विकासको सिद्धान्त हो । किन्तु, डार्बिनले क्रमिक विकासको यो सिद्धान्त दिँदा बडा जोडतोडका साथ उनको आलोचना भएको थियो । आउनुस्, प्रस्तुत लखोटमा हामी वैज्ञानिक चार्ल्स डार्बिन र उनको यस सिद्धान्तबारे कुरा गरौँः 

परिवारिक महौलबाट पाए चिन्तनशीलता
चार्ल्स डार्बिनले क्रमिक विकासको सिद्धान्त हासिल गर्नमा उनको पारिवारिक पृष्ठभूमि र खुला वातावरणको महत्वपूर्ण योगदान थियाे । परम्परा भन्दा बाहिर गएर चिन्तन गर्न सक्ने क्षमता समेत उनले विरासतमा पाएका थिए । 

डार्बिनको जन्म इग्ल्याण्डको एक मेधासम्पन्न परिवारमा भएको थियो । उनका हजुरबुवा इरासमस डार्बिन आफ्नो किताब ‘जुमोनिया’मा मानिससँग सम्बन्धित रहस्यको पुष्टि गर्दा आलोचित थिए । 

पुनर्जागरणकालीन समयमा युरोपमा चर्च वा चर्चको धारणा विपरीत उठ्ने हरेक आवाजलाई कुचलिन्थ्यो । यसको उदाहरणका रूपमा 'निकोलस कोपरनिकस'लाई लिन सकिन्छ । उनलाई सूर्य पृथ्वीको होइन, पृथ्वीचाहिँ सूर्यको परिक्रमा गर्छ भन्ने धारणा अघि सार्दा मृत्युदण्ड दिइएको थियो ।

यही समयमा मानिसको उत्पत्ति कुनै निश्चित सिद्धान्तका आधारमा भएको भन्ने धारणा चर्च र तात्कालीक धार्मिक कट्टरपन्थीलाई चुनौती दिनु थियो । चर्चको धारणाअनुसार मान्छेको उत्पत्ति एडम र ईवबाट भएको मानिन्थ्यो । 
शुरूआतमा डार्बिन पनि हिच्किचाए । तर, कालान्तरमा डार्बिन यस सिद्धान्तको पुष्टिका लागि जुटे । 


डार्बिन र उनका साथीहरू । तस्वीरः ColorizedHistory


समुद्री यात्राले दियो नयाँ जीवनदशा 
आफ्ना बुबा तथा हजुरबाले झैँ चार्ल्स डार्बिनले पनि चिकित्साविज्ञान पढ्ने अवसर पाएका थिए । उनलाई एडिनबर्ग विश्वविद्यालयमा भर्ना गरिएको थियो । त्यतिबेला एडिनबर्ग विश्वविद्यालयलाई अन्य विश्वविद्यालयको तुलनामा स्वतन्त्र र खुला विश्वविद्यालयका रूपमा मान्ने गरिन्थ्यो ।

तर, डार्बिनले चिकित्साशास्त्रमा मन लगाउन सकेनन् । लगत्तै उनले चिकित्साको पढाइ छोडी चर्चमा कैरियर बन्नका लागि क्याम्ब्रिजबाट डिविनिटीको पढाई शुरू गरे । यसै दौरान उनी खाली समयमा विभिन्न किसिमका किराहरू समात्ने र तिनको अवलोकन गर्ने कार्यमा व्यस्त रहे । 

प्रकृतिप्रति उनको लगाव देखेर क्याम्ब्रिज विश्वविद्यालयका एकजना प्राध्यापकले उनलाई ‘एमएच बीगल’मा एक समुद्री यात्रामा पठाउने निर्णय निमन्त्रणा दिए ।

यो समुद्री यात्राले उनको जिन्दगीमा निकै ठूलो परिवर्तन ल्याउँदै थियो ।

मात्र २२ वर्षको उमेरमा अर्थात् १८३१ मा उनलाई बीगल नामक समुद्री जहाजमा चढी अनेकौँ द्वीपहरूको यात्रा गर्ने मौका मिल्यो । यस यात्राका बारेमा उनले भनेका छन्, ‘बीगलबाट गरिएको समुद्री यात्रा मेरो जिन्दगीको महत्वपूर्ण परिघटना हो, जसले मेरो जिन्दगीलाई नयाँ प्रारूप दियो ।’

५ वर्ष लामो यात्राका दौरान डार्बिनले मानिस तथा विभिन्न द्वीपहरूमा रहेका रूखबिरुवा तथा वनस्पतिहरूबारेका अनेकौँ तथ्य तथा जानकारी संकलन गरे । यात्राबाट फर्किँदा उनले लगभग १५०० प्रजातिहरूका तथ्य तथा जानकारी एकत्रित गरी ल्याएका थिए ।

एमएच बीगल रोयल नेवी लगभग २७ मिटर लामो पानीजहाज थियो । यो नेबीले ५ वर्षमा ४ वटा महाद्वीपहरूको भ्रमण गर्याे । यस यात्राले डार्बिनको स्वास्थ्यमा भने नराम्रो असर देखियो । यहाँबाट शुरू भएको स्वास्थ्य समस्याले उनलाई जीवनभर गिजोलिरह्यो । 

यात्राका क्रममा उनले कैयौँ टापुहरूको वातावरण र जीवजन्तुलाई ध्यानमा राखी मानिस र अन्य जीवजन्तुको उत्पत्ति र विकासबारे अनेक रोचक तथ्यहरूमाथि प्रकाश पारे । 

यसका लागि उनले आफ्ना जीववैज्ञानिक साथीहरूसँग परामर्श गरे । यहीबाट उनी क्रमिक विकासको आफ्नो नयाँ सिद्धान्ततर्फ अग्रसर भए । 


डार्बिनले यात्रा गरेकाे पानीजहाज । तस्वीरः thought


‘क्रमिक विकासको सिद्धान्त’का लागि झले आलोचना
हजुरबुवाले नीव राखेको परिवर्तनको सिद्धान्तलाई डार्बिन अगाडि बढाउँदै थिए । तर, उनलाई चर्च र कट्टरताको डर थियो । उनले बुझेका थिए, आफूलाई परिवेशअनुसार ढाल्नसक्नु नै बढी समयसम्म जीवित रहने एउटा तरिका हो । जुन क्रमिक विकास सिद्धान्तको एउटा कडी समेत थियो । 

तत्पश्चात उनले पाँच वर्षे यात्राका क्रममा सँगालेका आफ्ना अनुभवहरू समेटी पुस्तक लेखे । 

डर र संकोचका कारण निकै लामो समयसम्म डार्बिनले आफ्ना सिद्धान्त (किताब) लाई आफैँसँग सीमित राखे । यद्यपि उनले खोज गरेको विषयमा अरू कसैले पनि खोज गर्नसक्ने सम्भावनासँग पनि उत्तिक्कै सचेत थिए डार्बिन । र, यही सचेतताले उनको सिद्धान्त अन्ततः सार्वजनिक भयो । उनको सिद्धान्त सार्वजनिक हुनुमा अल्फ्रेड रसेल वालेसको समेत योगदान छ । जसले डार्बिनलाई पत्र लेखी सिद्धान्त सार्वजनिक गर्न दबाव दिइरहन्थे । 

सिद्धान्त सार्वजनिक हुने दिन डार्बिनका २० वर्षीय छोराको निधन भयो । फलस्वरूप वालेसले नै उनका सिद्धान्तको प्रस्तुतीकरण गरे । 

डार्बिनको सिद्धान्त सार्वजनिक भएसँग चर्चले ठीक त्यही व्यवहार गर्यो, जुन व्यवहारको डरले यतिका वर्ष डार्बिनले सो सिद्धान्त सार्वजनिक गरेनन् । उनको कडा आलोचना भयो । अनेकौँ कट्टरपन्थीहरूले हत्याकाे धम्की समेत दिन थाले ।

डार्बिनका १० जना सन्तान थिए । तीमध्ये सबैभन्दा प्रिय छोरी ऐना थिइन् । जसलाई डार्बिनले सबैभन्दा बढी माया गर्ने गरेकाे बताइन्छ । ऐनाको निधन १० वर्षकै उमेरमा भएपछि डार्बिन पनि नराम्राेसँग बिरामी परेकाे घटनाले छाेरीसँग उनकाे स्नेहका द्याेतकका रूपमा लिइन्छ ।

कालान्तरमा उनकी अर्की छोरीको पनि निधन भयो । त्यसपछि उनले इसाइ समाजमा रहेको आफ्नै परिवारका सदस्यसँग बिहे गर्ने चलनको विरोध गर्न थाले । स्मरणीय छ, तत्कालीन समयमा इग्ल्याण्डमा आफ्नै परिवारका सदस्यसँग बिहे गर्ने प्रचलन थियो । स्वयं डार्बिनको बिहेसमेत परिवारभित्रकै बहिनी पर्नेसँग गरिएको थियो ।

त्यसपछि डार्बिनले आफ्ना बच्चाहरूको मृत्युको दाेषी परिवारभित्रै हुने यस्तोप्रकारको बिहे भएको मान्यता अघि सारे । उनका अनुसार यस्ताे बिहेबाट सन्तानमा अनुवांशिक रोगहरू बढ्दै जाने र मानिसहरूकाे अकालमै मृत्यु हुने गरेकाे थियाे । इग्ल्याण्डमा तत्कालीन समयमा आम मानिससम्म नभइ राजघरानाहरूमा समेत यसकिसिमको चलन थियो । यसप्रकार उनले एकपटक फेरि चर्च र परम्परागत समाजलाई चुनौती दिए ।

डार्बिन चर्चको पादरी बन्ने चाहनाबाट विमुख भइ अब ‘थ्यौरी अफ इभोल्यूसन’का प्रतिपादक भइसकेका थिए । अब उनको यो यात्रा यहीँ रोकिएन, उनले अनेकौँ विरोध र आलोचना बावजूद ‘ओरिजिन अफ स्पीसीज’ र ‘डिस्केन्ट अफ अ म्यान’ समेत लेखे । 


तस्वीरः स्क्राेल.इन


आज डार्बिनलाई याद गर्दा उनलाई आस्तिक वा नास्तिकको तराजुमा राख्ने गरिन्छ । तर, डार्बिनको अवधारणामा धर्म र आस्था समय र अनुभवसँगै बद्लिँदै आएको पाइन्छ । उनले कहिल्यै कुनै आस्था र विश्वासको अवमूल्यन गरेनन् । साथै विज्ञानप्रतिको उनको भरोसा पनि कहिल्यै टुटेन । 

एजेन्सीहरूकाे सहयाेगमा

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार