काठमाडाैँ । लटरम्म फलेका घिरौँला, करेला, काँक्रा, सिमी जस्ता तरकारीले घरका छत भरिएका छन् । पाँचतला माथिका छतमा हरियाली फलेका तरकारी देख्दा सबैलाई लोभ्याइरहेको छ । आफूमा इच्छा शक्ति र जाँगर भयो भने छतमै हरियाली तरकारी फलाउन सकिने उदाहरण बनेका छन्, पाल्पा रामपुरका महिलाहरु ।

फुर्सद मिल्यो कि छतमा जाने तरकारी गोडमेल गर्ने, पानी हाल्ने कार्यमै समय खर्चने गरेको बताउन्छिन्, बेझाड बजार बस्ने विन्दु श्रेष्ठ । छतमा लटरम्म फलेका तरकारीले मनलाई प्रफुल्लित बनाउने गरेको उनि भन्छिन्। उनको छतमा सबैजसो तरकारी फलेकै हुन्छ । श्रेष्ठलाई खाली समय त्यसै बिताउन मन लाग्दैन । युट्युब हेरेर छतमा तरकारी लगाउन थालेपछि किनेर खानु नपरेको उनकाे भनाइ छ ।

जमिनमा लगाएको तरकारीको तुलनामा छिटो उत्पादन लिन पाइने, रोग कीरो कम लाग्ने हुँदा व्यवस्थित तरिकाले खेती गरियो भने तरकारी किन्ने पैसा बचत हुने उनको अनुभव छ । आफ्नो जग्गा नभए पनि घरमा खान पुग्ने तरकारी फलाउन सकिन्छ ।

“आलु र दाल मात्रै किने भयो, फरक खालका तरकारी सबै छतभरि नै लटरम्म फलेका छन्, जमिनमा तरकारी लगाउँदा रोग कीरोले धेरै सताउँथ्यो, गाईवस्तुले खाने समस्याले पिरोल्थ्यो भने छतमा लगाइएको तरकारीमा रोग र कीरो  कम लाग्ने गरेको पाइएको छ,” उनले भन्निन् । उनको छतमा अहिले करेला, घिरौँला, सिमी, काँक्रा, खुर्सानी लगायतका विभिन्न जातका तरकारी छन् । साथै आँप, लिची जस्ता फलफूल, विभिन्न जातका फूलहरु पनि छ । उनि भन्छिन्, “पाँचौँ तलामाथि छतभरि हरियाली तरकारी फलेको देख्दा सबैजना दङ्ग पर्छन्, घरमा मात्रै नभई छिमेकी, आफन्तलाई पनि बेलाबेलामा दिन पाउँदा रमाइलो लागेको छ, आफ्नै मेहनतको खान पाइएको छ ।”

उनले छतमा तरकारी लगाउन थालेको करिब आठ वर्ष भयो । श्रेष्ठको व्यवसाय देखेर यहाँका अन्य महिलाहरुले पनि छतमा तरकारी फलाउन थालेका छन् । बिहान साँझ खाना पकाउँदा आवश्यक परेका बेला छतमा गएर तरकारी टिप्ने र पकाउने गरिएको बताउन्छिन्, जुनु श्रेष्ठ । उनले तरकारीका अलवा छतमा कुखुरापालन, बट्टाइँपालन समेत गर्छिन् ।

“तरकारीमा मलका लागि कुखुरा र बट्टाइँ पालिएको छ, चारजनाको परिवारलाई छतमै फलेका तरकारीले पुगेको छ, बजारमा कहिलेकाहीँ नयाँ तरकारी पाइयो भने किनिन्छ नत्र घरमै उत्पादन भएकाले पुगेकै छ,”उनले भन्निन्  । छिमेकीले छतैभरि लटरम्म तरकारी फलाएको देखेपछि आफूले पनि प्रविधि सिकेर तरकारी खेती थालेको उनले बताइन् ।

पुष्पा श्रेष्ठले काँक्रा, घिरौँला, सिमी, काउली, बन्दा, प्याज, धनियाँ, खुर्सानी, लौका, गोलभेँडा मात्रै होइन आलु पनि छतमै फलाउन्छिन् । उनको छतमा सबैजसो तरकारी पाइन्छ । मलका लागि कुखुरापालनसमेत गर्छिन् ।

छतमा निस्केर हरियाली तरकारी फलेको देख्दा नि सबै तनाव हटेर जाने र फुर्सदको समय तरकारी गोडमेल गर्ने, लगाउने गर्दा शरीर स्वस्थ भएको छ भने दिनहुँ ताजा–ताजा तरकारी खान पाइएको उनि बताउन्छिन्। “बजारमा बस्नेहरुलाई करेसाबारी भनेकै छत हो, यसरी तरकारी फलाउन थालेको एक दशक भयो, मेहनत र जाँगर भयो भने तरकारी लगाउन जग्गा नै चाहिँदैन, छतमै आफूलाई खान पुग्ने तरकारी फल्छ,” उनले भन्निन् ।

कौसी खेतीसम्बन्धी तालिम लिन पाएमा अझ उत्पादन बढाउन सकिने उनको भनाइ छ । बिना तालिम तरकारी लगाउँदा राम्रै उत्पादन भएको छ भने अब यसलाई विस्तार गर्न प्रविधिको आवश्यक छ ।

रामपुर नगरपालिका क्षेत्रमा मात्रै करिब एक दर्जन घरका छतमा लटरम्म हरियाली तरकारी फलेका छन् । तरकारी किन्ने पैसा बचत भएको छ भने आफूले नै उत्पादन गरेको स्वस्थ ताजा तरकारी खान पाइएको छ ।

कौसी खेती महिलालाई समय बिताउने माध्यम बनेको छ । जग्गाको अभावमा पनि घरायसी प्रयोजनका लागि छतमै तरकारी फलाउन सकिन्छ भन्ने यहाँका महिलाहरु उदाहरणीय बनेका छन् । मेहनत र परिश्रम गरियो भने घरका छतलाई नै करेसाबारी बनाउन सकिन्छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार