‘लिपस्टिक’ सम्भवतः दुनियाँभरिमा सबैभन्दा बढी प्रयोग/परिचित भएको सौन्दर्य सामग्री हो । जसले कथित रूपमा ओठको सौन्दर्य बढाउँछ र मुस्कानलाई ताजगी दिन्छ । 

आधुनिक सन्दर्भमा लिपस्टिकलाई भिन्न समाजिक चिन्तनअनुसार भिन्नभिन्न तरिकाले हेर्ने गरिन्छ । कतै यसलाई आधुनिकताको प्रतीकका रूपमा हेरिन्छ भने कतै यसलाई नारीको चारित्रिकतासँग जोडेर समेत हेर्ने गरिन्छ । यससँग सम्बन्धित अनेकौँ सामाजिक सन्दर्भ तथा घटना, परिघटनाहरू छन् ।

वर्तमानमा यो करिबकरिब हरेक महिलाको सौन्दर्य सामग्री बनेको छ । यद्यपि यसको रंग तथा शैलीमाथि सामाजिक स्तरबाट अनेकौँ टिप्पणी तथा बहस हुने गरेका छन् ।  

यहाँ महिलाको यही सौन्दर्य सामग्रीको इतिहासदेखि वर्तमान ‘पहलू’हरूलाई खोतल्ने प्रयास गरिएको छ । 

इतिहासमा लिपस्टिकका पहलू

लिपस्टिकलाई मेसोपोटेमियाको सभ्यताबाट शुरू भएको मान्ने गरिन्छ । त्यहाँ लिपस्टिक महिलाहरूको मात्रै होइन, पुरुषहरूको समेत सौन्दर्य सामग्री थियो । त्यतिबेलाका पुरुष तथा महिलाहरू ओठको सौन्दर्य बढाउनका लागि एकप्रकारको ढुंगाको धुलोको लेप आफ्ना ओठमा लगाउने गर्दथे । 

त्यस्तै, मिस्रकी शक्तिशाली रानी क्लियोपेट्राले विभिन्न रंगीविरंगी किरा तथा कमिलाहरूको रस ओठमा लगाउने गरेको इतिहास पाइन्छ । 

‘डार्क एज’को समयमा युरोपमा भने चर्चहरूमा लिपस्टिकको प्रयोग गर्नेहरूलाई  शैतानका पुजारीका नामले चिनिन्थ्यो । पछि रानी एलिजाबेथ फस्टले चर्चको धारणाविपरीत लिपस्टिकलाई फेसन र सौन्दर्यको प्रतीक बनाइन् । तर, ब्रिटिश पार्लियामेन्टमा लिपस्टिकबारे कडा कानुन बनाउने प्रयास भयो । जसअनुसार कुनै महिलाले बिहेपूर्व लिपस्टिकको प्रयोग गरेको पाइएमा बिहे कानुनी रूपमै खारेज गर्न सकिने प्रावधान राखिएको थियो । यद्यपि त्यो कानुन पास हुन सकेन । फलस्वरूपमा ब्रिटेनका महिला एउटा कालो कानुनबाट जोगिन पुगे । 

ग्रीसमा पनि लिपस्टिकलाई लिएर ब्रिटेनमा जस्तै आग्रह पूर्वाग्रहहरू थिए । त्यहाँ त लिपस्टिक लाउने महिलालाई चारित्रिक रूपमा कमजोर आँकिन्थ्यो । 

त्यहाँ लिपस्टिक लगाउने महिलालाई यौन व्यवसायीका रूपमा हेरिन्थ्यो । दिलचस्प कुरा के छ भने, यौन व्यवसायीहरू सार्वजनिक स्थानमा बिना लिपस्टिक देखिएमा उनीहरूलाई लिपस्टिक लगाउन बाध्य पारिन्थ्यो । युरोपमा एकातिर लिपस्टिकलाई वेश्यावृत्ति र सैतानसँग जोडिन्थ्यो भने अर्कोतिर युरोपकै रोम साम्राज्यमा लिपस्टिक सामाजिक स्टेटसको प्रतीकका रूपमा रहेको थियो । त्यहाँ महिलाले मात्रै होइन, पुरुषले समेत लिपस्टिक लगाउने गर्दथे । 

प्रथम अमेरिकी राष्ट्रपतिले लाउथे लिपस्टिक

प्रथम अमेरिकी राष्ट्रपति जर्ज वाशिंगटनसमेत लिपस्टिकको प्रयोग गर्ने गर्दथे । त्यस्तै, उनको रुचि शृङ्गारपटारमा समेत रहेको विभिन्न रिपार्टहरू प्रकाशित छन् ।


लिपस्टिक लगाइएकाे जर्जकाे तस्वीर । स्राेतः गेटे 


जब राष्ट्रवादसँग जोडियो लिपस्टिक

द्वितीय विश्वयुद्धको समयमा आर्थिक मन्दीबाट गुज्रिइरहेको ब्रिटेनमा कैयौँ वस्तुको उत्पादमा रोक लगाइँदै थियो । जसमा कस्मेटिक सामग्रीहरूसमेत समावेश थिए । तर, विन्स्टन चर्चिलको सरकारले लिपस्टिकको उत्पादनमा कुनै रोक लगाएन । लिपस्टिकलाई उनले सकारात्मकताको निशानी मान्दै उत्पादनमा रोक नलगाएको भन्न भ्याए । परिणामतः लिपस्टिकको व्यापार ह्वात्तै बढ्यो । त्यस्तै, लिपस्टिकका विज्ञापनहरू राजनीतिक हुन लागे । पोस्टर्सहरूमा मानिसहरूका ओठलाई सैन्य रंगमा रंगीएको देखाइन थालियो, यसको ठूलो कारणका रूपमा हिटलरको मेकअप विरोधी चरित्र रहेको बताइन्छ र चिर्चिलले यी सबै कार्य हिटलरलाई चिढ्याउन गरेको मानिन्छ । 

त्यस्तै, सो समयमा लिपस्टिक कम्पनीहरूको ‘ट्यागलाइन’ समेत युद्धबाट प्रभावित देखिन थाल्यो । उनीहरू दाबी गर्ने गर्थे, हामी युद्धमा किन छौँ भन्ने कुरालाई लिपस्टिकले सम्झाइराख्नेछ । 

उता युद्धग्रस्तताले महिलाहरू लिपस्टिक किन्न सक्ने अवस्थामा थिएनन् । तर, उल्लिखित ट्यागलाइन देखेर उनीहरू लिपस्टिक किन्ने र लगाउने भरपूर प्रेरणा पाउथे । उनीहरू लिपस्टिक लगाएर देशका खातिर क्रान्ति गरिरहेको सम्झिन्थे र बेफिक्र निम्नस्तरको सौन्दर्य उत्पादमा भारी खर्च गर्दै देशका लागि सुन्दर हुनुपर्ने भन्ने भावनाले ग्रस्त बन्न पुगे ।


युद्धको समयमा लिपस्टिक लाउँदै ब्रिटीश महिला । तस्वीरः टेलिग्राफ


फ्रान्सबाट शुरू भयो लिपस्टिकको कारोबार

१९ औँ शताब्दीको अन्त्यतिर फ्रेन्च कस्मेटिक कम्पनी ग्युरेलिनले पहिलोपटक लिपस्टिक बनाउने उद्योगको थालनी गर्यो । जबकी १८८४ मै सबैभन्दा पहिले 'फ्रेन्च प्रफ्युमर्स'ले लिपस्टिकलाई व्यावसायिक रूपमा शुरू गर्ने कोसिस गरेको थियो । कालान्तरमा १९२० आउँदानआउँदै लिपस्टिक पूरै युरोपभर प्रचलित भयो । 

त्यतिबेला लिपस्टिकलाई रंग दिनका लागि ‘केरमाइन डाई’को प्रयोग गरिन्थ्यो । जुन मेक्सिको र अमेरिकामा पाइने एकप्रकार किट ‘कोकिनिल’बाट बनाइन्थ्यो । वास्तवमा कोकिनिलले शिकारी वा शत्रुहरूबाट बच्नका लागि ‘केरमाइन’ नामक एक पदार्थ छोड्छ, जसबाट केरमाइन डाई बन्ने गर्दछ ।

१९३३ मा वोगले लिपस्टिकलाई महिलाका लागि सबैभन्दा महत्त्वपूर्ण कस्मेटिक घोषित गर्यो । यस दशकमा लिपस्टिक ‘ग्रेट डिप्रेशन’को समयमा समेत बजारमा बिक्न छोडेन । यस घटनापछि लिपस्टिकले इकनोमिक्समा स्थान हासिल गर्यो, अर्थशास्त्रीहरूले यसलाई ‘लिपस्टिक इफेक्ट’का नामले अर्थशास्त्रमा दर्ज गराए । 

९० को दशमा लिपस्टिक नारीत्वसँग जोडियो 

१९६०-७० को दशकमा दुनियाँभरिबाट ‘फेमिनिस्ट’ समूहले लिपस्टिक्सविरुद्ध आवाज उठाउन शुरू गरे । उनीहरूले लिपस्टिकलाई केवल पुरुषहरूलाई खुसी बनाउने उद्देश्यले बनाइएको वस्तुका रूपमा परिभाषित गर्ने कोसिस गरे । तर, ९० को दशकमा लिपस्टिकलाई नारीत्वसँग जोड्न थालियो । लिपस्टिक लगाइनुका कारणहरूलाई पनि नारीत्वसँग जोडी त्यसको विज्ञापन गर्न थालियो । 

रोर मिडियामा प्रकाशित प्रस्तुत सामग्री सन्तोष विष्टले अनुवाद गरेका हुन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...