सञ्जय साह मित्र

कात्तिक शुक्लपक्षको द्वितीय तिथिदेखि पूर्णिमासम्म हिन्दू मधेसी समुदायका छोरी–बहिनीको रात्रीकालीन उत्सव हो, सामाचकवा । यसलाई लोकगीति नाटक वा लोकसम्पदाको रूपमा लिइन्छ ।

हुन त पहिले जुन उत्साहपूर्ण सहभागिता समाचकवामा हुन्थ्यो, त्यसको एउटा अंश पनि अहिले पाउन मुस्किल छ । यद्यपि ग्राम्य जीवनमा यसको अवशेष छ । यसले आफ्नो अस्तित्व बचाइराख्न सकेको छ । कहिलेसम्म यो ग्राम्य सम्पदाको रूपमा रहिरहन्छ, भविष्य इतिहासले मात्र बताउला ।

यस उत्सवको उद्भवको सम्बन्धमा अनेक किंवदन्ती र अनुमान छन् । तर महाभारतसित यसको सम्बन्ध रहेको यसको कथानक तथा पात्रले गर्दा स्पष्ट हुन्छ । 

सामाचकवामा सामा र चकवा गरी दुई शब्दको संयोग हो । सामा नायिका हो भने चकवा नायक हो । ग्राम्य जीवनमा चखेवा चखेवी चराको रूपमा पनि यसलाई लिइन्छ । अनि खिडरिच चरोलाई बहिनीको रूपमा मानिन्छ ।

वृन्दावनका यदुवंशी राजा कृष्णकी पत्नी जाम्बवतीकी पुत्री हुन् सामा । सामा यस लोकनाटककी नायिका हुन् । राजदरवारकी राजकुमारी सामाको लालनपालन वृन्दावनके ऋषि आश्रममा भएको पाइन्छ । त्यहाँ सामाको सखा वा मित्र हुन्छन् चारू । चारुको अर्को नाम चकवा हो । सबैले चारूलाई चकवा भनेर सम्बोधन गर्दछन् । सामाका दाजु हुन् साम्ब ।

सामा निकै सुन्दरी अर्थात् रूपवती छिन् । घरनजिकै ऋषिआश्रम छ । ऋषि आश्रममा बिहान, बेलुकी, दिउँसो र रात्रीमा पनि सामा गइरहन्छिन् । यसले गर्दा सामा र चारुको बाल्यकाल वृन्दावनका ऋषिको आश्रममा, महलमा, कदमको छाँयामा, फूलबारीमा खेल्दै बित्छ । विस्तारै बित्दै गएको समयसँगै सामा र चारूमा शारीरिक परिवर्तन आउँछ । बाल्यकालको बालसुलभ प्रेममा गहिराई मिसिन्छ । 

चारु यदुवंशी हो । स्वभावैले चारु योद्धा पनि छ, लडाकु पनि छ । उसमा वीरता र शौर्य छ । त्यसबेलाको एउटा चलन के पनि थियो भने जुन योद्धाले सफलतापूर्वक आफ्नो बहादुरी प्रदर्शन गरेर स्वयंवरमा सबैको मन जित्न वा शर्त पूरा गर्न सक्थे, राजकन्याको गलामा माला पहिर्‍याएर स्वामी बन्न पाउँथे । एकातिर सामा रूपवती र गुणवती छिन् भने अर्कोतिर चारू सुगठित शरीरधारी शौर्यवान तथा वीर ।

सामालाई भित्रभित्रै मन पराउने पात्र चूडक हो । चूडक सामालाई मन पराउने तर चारूलाई देख्न नचाहने पात्र हो । चूडक त्यस बखत कृष्णको दाहिने हातको रूपमा काम गर्दथ्यो । यसले गर्दा राजकाजमा चूडकको भूमिका पनि रहन्छ । जसलाई चूडकले मन पराउँदैनथ्यो, उसलाई अनेक बहानामा चूडकले सजाय दिलाउँथ्यो वा दिन्थ्यो । 

एक दिन चूडकले मौका पारेर सामाको हात समात्छ । चूडकको नियत सामाले बुझेकी छ । चूडकको गालामा सामाले थप्पड दिइन् । झापड खाएर अपमानित चूडक कृष्णसित सामाको बारेमा अनेक कुरा गर्दै चारुसित प्रेम सम्बन्ध रहेको पनि बताउँछ । चारु र सामाको पवित्र प्रेममा नुन खुर्सानी थपेर कृष्णलाई सुनाउँदा पनि कृष्णमा खासै उत्तेजना आएन । उमेर पुगेका अविवाहित युवायुवतीबिच स्वच्छ प्रेमका पक्षपाती कृष्ण आफैँ छन् । 

सामाकी आमा जाम्ववती आफ्नी छोरीको विवाह राजदरबारमा गर्ने प्रयास पनि गर्छिन् तर राजा कृष्ण सामा र  चारुको पवित्र प्रेमको अध्ययन गरेका छन् । यसै कारणले छोरीलाई कुनै राजमहलको महारानी नबनाएर चारुको हृदयश्वरी बनाउने निर्णय लिन्छन् । अन्तमा निकै धुमधामले सामा र चारुको विवाह हुन्छ । विवाहपछि पनि ऋषि–मुनिको आश्रममा स्वतन्त्र भएर घुम्ने क्रम चलिरहन्छ । 

यस्तैमा एक दिन सामा ऋषिको आश्रमतिर गइरहेको चूडकले देख्छ । दुष्ट स्वभावको चूडकले सामाको बारेमा नराम्रो कुरा कृष्णलाई सुनाउँछ ।  

रिसाएर कृष्ण सामालाई घर छोडेर ऋषिमुनिको आश्रममा गएको आरोपमा चरो बन्ने श्राप दिन्छन् । आफ्ना पिताको श्रापले सामा चरो बन्छिन् । पिताको श्रापलाई सामाले अपमान मानिन तर झूठो कुरो लगाउने चूडकलाई चरो बनिसकेकी सामाले श्राप दिइन् – जुन झूठो मुखले तिमीले पिताजीमा कुरो लगायौ, त्यसै मुखमा आइमाईले आगो झोंस्छिन् । 

सामाको वियोग उनका पतिले सहन सक्दैनन् । चरो बनिसकेकी सामाको खोजमा विक्षिप्त भएर चारु चारैतिर डुलिरहन्छन् । विह्वल चारुको शारीरिक अवस्था अत्यन्त दयनीय बन्दै गएको देखेर नारदमुनिको मनमा दया उम्रन्छ । ऋषि नारदको सल्लाहअनुसार चारु भगवान महादेवको कठोर तपस्या गर्दछ । महादेवलाई खुशी पारेर चारु आफू पनि सामासित भेट्न चरो बन्न पाउने वरदान प्राप्त गर्दछ । ऊ पनि चरो बन्दछ । यसै चरोको नाम चकवा हो । आफ्नी पत्नी तथा बालप्रेमिका सामासित सुखपूर्वक विचरण गर्न थाल्दछ । 

यो कुरो जब सामाका दाजु साम्बले थाहा पाउँछन् तब निकै दुःखी हुन्छन् । आफ्नी एकमात्र बहिनी सामा र बहिनीज्वाईँ चारु (चकवा)लाई चरोजुनीबाट मुक्त गराउन भजन, कीर्तन, प्रार्थना, तपस्या तथा स्तुतिगान गर्दछन् । साम्बको तपस्यासले भगवान विष्णु खुशी हुन्छन् । भगवान विष्णुले साम्बलाई स्वर्गको सिंहासनको लोभ दिन्छन् तर  साम्व स्वीकार गर्दैनन् ।

सामा र चकवालाई पहिलेको रूपमा प्राप्त गर्नु नै त्रिभुवनको राज्य प्राप्त गर्नु सरह हो भन्ने कुरा साम्बले भगवान विष्णुलाई बताउँछन् । त्यसपछि भगवान विष्णु भन्दछन् – कातिक शुक्लपक्षको द्वितीया तिथिमा प्रसन्नचित भएर वृन्दावनका महिलाहरूले सामा–चकवाको, तिम्रो र चूडक तथा वृन्दावन एवम् सप्तर्षिको प्रतिरूप बनाएर, त्यसलाई अनेक रङमा रङ्गाएर बाँसको छैंटीमा धूपदीपसहित दहीचिउराको भोग लगाएर तथा मूर्तिहरूलाई टाउको राखी गीत गाउँदै पूरा गाउँ घुमाउनू ।

यो क्रम पूर्णिमाको रातसम्म चलाइराख्नू र पूर्णिमाको राति मिष्ठान एवम् अन्य विभिन् परिकारद्वारा भाइलाई सन्तुष्ट बनाउँदै सबैले चूडकलाई जलाउने परम्परा बसाल्नू । जब पृथ्वीमा सबै महिला यसरी गर्न थाल्छन् तब तिम्रो बहिनी र बहिनीज्वाइँ फेरि मानव रूप धारण गर्नेछन् ।

साम्बले आफ्ना नगरका सबै महिलालाई तथा दिदीबहिनीलाई भगवान विष्णुले भनेजस्तै गर्न आग्रह गर्दछन् । महिलाहरुले पनि त्यसै गर्दै आएका पनि छन् । आशा छ कि एक दिन सामा र चारुको पुनर्मिलन मानवरूपमा फपेरि हुने छ ।

बहिनीको लागि दाजुले गर्न सक्ने त्यागको अनुपम उदाहरणको रुपमा यस उत्सवलाई लिइन्छ । लोप हुँदै गएको यस उत्सवको कालक्रम तथा स्थान विशेषमा मान्यता वा प्रचलनमा पनि केही पार्थक्य पाइनुलाई स्वाभाविक मान्न सकिन्छ । यस लोकगाथाको पौराणिक आधार रहेको छ । यसलाई संरक्षण गर्नु वर्तमानको कर्तव्य हो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...