तस्मै अर्थात् खिर, त्यसो त खिर साहित्य भनेर नाम दिएको भए पनि हुन्थ्यो तर, थहचोकको ढुङ्गे बाटोमा हिँड्दै गर्दा आफ्नै नेवार साथीले ‘असार साउन खि खाने बाहुन’ भनेर जिस्काउने गरेको सम्झिँदा खिर र तस्मैको समरूपतालाई स्पष्ट पार्न भए पनि मैले तस्मै साहित्य नै रोजेँ ।  नेवारी भाषामा ‘खि’ माने बिस्टा, अझै घरेलु भाषामा भन्ने हो भने (गु) मल । अब साहित्यलाई पनि मध्यनजर गरी आधुनिक भौतिकवादी साहित्यकारहरूको सिको गरी बिम्ब प्रयोग गरेर मैले पनि नामकरण नै गर्दिए- 'तस्मै साहित्य' भनेर । 

अब कुरा आउँछ खिर नै किन?

अब हेर्नुस्, तरकारीको राजा आलु भनेर उ बेलामै हाम्रा गतिला साहित्यकार गइहाले ।  त्यस्तै हाम्रो सदाबहार भोज भतेर, विवाह, बर्तमन, पास्नी, रुद्री, दसैँ, तिहार, वर्खान्त सबै बेला मौकामा खिरकै बाहुल्यता बढी हुन्छ । महिलाहरूको हकमा भन्ने हो भने पनि  तीजको दर खाने दिनमा खिर सम्प्रदायको ढकनी बनाएर खिरको महत्त्वको जगेर्ना गरिन्छ । खिर यति धेरै प्रचलित भयो कि, शिवरात्रिमा खिर, सरस्वती पूजामा खिर, पिकनिकमा खिर, राजनैतिक दलहरूको सम्मेलनमा खिर, खिरै..खिर । त्यस्तै, मन्दिरमा पङ्गत बस्दा पनि कहिलेकाहीँ त अरू केही नआएर खिरै मात्र पनि आउने गर्छ । फेरि जीवनभर खिर खाएर रिटाएर भएका हाम्रा बा, सुगरको मुख बारिरहेको अवस्थामा पनि चिनी नहालेको खिर भए पनि हुन्छ भनेर आफ्नो विचार व्यक्त गर्नुहुन्छ ।

पाहुना आए खिर, गाइले दूध कम दिए खिर, दूध बढी दिए खिर, खुसीको खबर आयो खिर, दुःखद घटना घट्यो खिर, यसरी खिरले यती बिघ्न ख्याति पाएको देखेर अब त साथीहरूले हाम्रो फुटबल टिमलाई पनि तस्मै टिम भनेर नाम राख्न समेत भ्याइसकेछन् ।  जे होस, तस्मै, खिर जे नाम दिए पनि, दूध उमाल्यो, चामल हाल्यो, चिनी हाल्यो खिर पाक्यो । यसरी बाह्र वर्षे बच्चादेखि बयासी वर्षे वृद्धले सजिलै बनाउन सक्ने सजिलो मिठो भोजनलाई आजकाल चलचित्रहरूमा पनि प्रयोग गरिएको पाइयो । नेपाली चलचित्रको हकमा कबड्डी कबड्डीमा झाँक्रीले बनाएको खिर, मैयाँलाई मोहनी लाउन दयाह्याङले बनाएको खिर, अनि हाम्रै मीठो खिरलाई अमिताभ बच्चनको सूर्यबम्सममा पनि प्रयोग गरेर ठुलै घटना निम्ताएको फिल्मी कुरा चौतारीमा बसी सुर्ती माड्दै गरेको साइला खुलालले दौँतरीलाई सुनाउँदै गर्दा, श्राद्ध गरी, खिर खाएर, भरे केही नखाने भन्ने अवस्थामा सिदा काँधमा बोकी फर्किएका हरि बाजेलाई सोध्छ, ‘बाजे च्याप्नु हुन्छ त ?’

‘बज्या त्यो च्याप्ने ठाउँ भा'को भए त खिरै खान्थेनी’ भन्ने जवाफ सुनेपछि, प्याट प्याट्ट हात दुईपटक पड्काएर खुराक मुखमा राखी आफ्नो बाटो लाग्छ ।

देखिहाल्नु भयो, साहित्यको कुरा गर्दा गर्दै कतै गुलिया कुरा कतै नुनिला कुराहरू पनि भए, कहिलेकाहीँ खिर खादा, खिरमा परेको ढुङ्गा खिरको मीठो गाँससँगै टोकिँदा तिरिमिरी झ्याइँदेखि खिरलाई भक्कुमार सराप्नै पनि गरिन्छ ।  त्यस्तै खादा खादा वान्ता भएर ‘अब त जिन्दगी खिर खान्न’ भने पनि कतै आइपरेको खण्डमा नखान मनै मान्दैन ।

जेजसो भए पनि हामीलाई खिर प्यारो छ । जस्तोसुकै उमेर समूहले मन पराउने खिरलाई विश्वकै उत्कृष्ट भोजन भन्दा केही फरक पर्दैन ।

धेरै दिन भएको थियो खिर नखाएको, कुरैकुरामा मैले पनि एक दिन खिर बनाउँछु भनेर दूध किनेर ल्याए, दूध कसौँडीमा उमाले, चामल, खीर मसला हाले र केही समयमा निकाले, खिर पाकिहाल्यो । जहान बाहिर सरेकी थिइन । पस्किएर केटाकेटीलाई दिइसकेपछि उसको थालमा खिर हाल्दै गर्दा जेठो छोरोले भन्यो,  ‘बा खिरमा त नुन कम भएछ ।’ जहानले एक सितो चाट्दै व्यङ्ग्य मिश्रित आवाजमा भनिन, "हजुरले जाउलो बनाउन खोज्नु भएको थियो हो?" 

जसोतसो त्यो रात नुन हालेको खिर खाएर, घरधन्दा सकी बिस्तारामा पल्टिँदै गर्दा याद आयो उही नेवार साथीको मलाई जिस्काउने उखान, ‘असार साउन खि खाने बाहुन..।’ 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...