विशाल लम्साल

नेपाल बहु-सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । यहाँ बसोबास गर्ने विभिन्न जातजातिका आ-आफ्नै मौलिक संस्कार-सस्कृति, परम्परा, भेषभुषा, चाडपर्व, भाषाशैली, रीतिरिवाज रहेका छन् ।

नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरूमध्ये कुसुण्डा जाति लोपोन्मुख, अल्पसङ्ख्यक र एक फिरन्ते आदिवासी जनजाति हो । राष्ट्रिय जनगणना २०६८ अनुसार कुसुन्डा जातिको जनसङ्ख्या १ सय ७३ छ । कुसुण्डाहरूलाई ‘वनको राजा’ भनिन्छ । किनकि यिनीहरू गाउँभन्दा टाढा, जङ्गलको छेउछाउमा बसोबास गर्दछन् । आफूलाई वनको राजा ठान्ने कुसुण्डाले राउटेलाई आफ्नो प्रजा ठान्दथे । वनको रुख काट्ने भएकाले राउटेले कुसुण्डालाई कर बुझाउने गर्दथे । कुनै समय त राउटेले कुसुण्डालाई कर नबुझाएकाले कुसुण्डाले धनु–काँडले हान्छ भनी राउटेहरू कुसुण्डालाई टाढै देखे पनि उक्त ठाउँबाट अन्त्यै जाने वा भाग्ने गर्दथे । करको रूपमा राउटेहरूले कालिज, कन्दमूल, तरुल इत्यादि वर्षमा एक पटक कुसुण्डा कहाँ पुर्‍याउने गर्दथे । राउटेहरू अझै पनि जङ्गलमा भ्रमणशील जीवन बिताइरहेका छन् ।
कुसुण्डा भन्नु नै खेती नगर्ने र पशु नपाल्ने जाति भन्ने बुझिन्छ । कुसुण्डालाई नेपालको एक अनौठो आदिवासी जनजातिको रूपमा हेर्ने गरिन्छ । यिनीहरू सोझा र सरल प्रवृत्तिका हुन्छन् । नम्र स्वभावका यो जाति परम्परामा विश्वास गर्ने, अरू कसैको व्यक्तिगत र सामाजिक जीवनमा प्रभाव नपार्ने, स्वतन्त्र जीवन चाहने र आफूमा बढी केन्द्रित हुने गर्दछन् । यिनीहरूको भाषा, परम्परागत बसोबास, खानपान, पहिरनलगायत जीवनपद्धति अन्य जातिभन्दा फरक छ । तर अरू जातिभन्दा चेपाङ जातिसँग अलि बढी चालचलन, रहनसहन मिल्न गएको पाइन्छ । कुसुण्डाहरू पहिला आफूलाई ‘वन राजा’ वा ‘झर्रा वन ठकुरी’ भन्ने गर्दथे । तर अहिले उनीहरू आफूलाई छन्त्याल बताउँछन् । छन्त्याल भित्रको पनि कुसूर्ने थर कुसुण्डा जातिको अपभ्रंश भएको मानिन्छ । समाजमा कुसुण्डालाई हेयको दृष्टिले हेरिने हुनाले केही कुसुण्डाहरू ठकुरी बने भने केही अन्य जातिमा प्रवेश गरी त्यही जातिको रूपमा आफूलाई चिनाउने गरे । यसरी उनीहरूले आफ्नो थर लेख्न छाडेकाले पनि लोपोन्मुख सूचिमा परेको मानिन्छ ।

किम्वदन्तीअुनसार प्राचीनकालमा हिन्दु शास्त्र अन्तर्गत रामायणमा, सीताका दुई छोराहरू रहेका थिए- एकजना लव र अर्को कुश । सीताका दुई छोराहरू मध्ये लवको वंशज चेपाङ र कुशको वंशज कुसुण्डा भएको मानिन्छ भने अर्को कथाअनुसार कुसुण्डा जातिको उत्पत्ति वाल्मीकि आश्रम रहेको क्षेत्रलाई मान्ने गरिन्छ । रामायणकलामा सिता वनवास जाँदा वाल्मीकिको आश्रममा बसेकी थिइन् । उनको लोहोरी नाम गरेको एउटा छोरा थियो । एक दिन छोरा लोहोरीलाई झोलुङ्गामा सुताएर सीता खोलामा लुगा धुन र नुहाउन गएकी थिइन् । त्यहीँबेला बाँदरहरू उनको अगाडि आफ्ना बच्चासँग खेल्न थालेको देखेर सीतालाई डाहा लाग्यो र कुटीमा गई छोरा ल्याएर बाँदरलाई इख्याउँदै खेल्न थालिन् । त्यहीँबेला ऋषि वाल्मीकिले झोलुङ्गामा बालक देखेनन् । सीता खोलाबाट फर्केर आउँदा छोरा हराएकोमा दुःख मान्नेछिन् भनेर ऋषिले केही कुश लिई आफ्नो तपोवलले त्यसैबाट बालक बनाई सुताइदिए । सीता खोलाबाट छोरा लिएर फर्किन् । एक पटक बनाइसकेको बालक फ्याँक्न नमिल्ने भएकाले ऋषिको आज्ञाअनुसार सीताले दुवै बालक स्याहार्न थालिन् । कुशबाट बनेको हुनाले उसको नाम कुशरी राखियो । लोहोरीका सन्तान चेपाङ भए भने कुशरीका सन्तान कुसुण्डा भए ।

नेपालमा कुसुण्डाहरूको बसोबास पश्चिम नेपालको दाङ, सल्यान, प्यूठान, गोर्खा, तनहुँ, कपिलवस्तु, अर्घाखाँची, सुर्खेत लगायतका जिल्लाहरूमा रहेको छ । हाल कुसुण्डाहरू आधुनिक शैलीका घरमा स्थायीरूपमा बस्न थालेका छन् । पहिला उनीहरू वनवासी भएकोले स्थायी घर हुँदैनथ्यो । वनमा बस्दा कुनै एक निश्चित स्थानमा नबसी बस्ने ठाउँहरू परिवर्तन गरिरहन्थे । मौसमअनुसार स्याउलाको छाप्रा, ओडार वा गुफामा बस्ने गर्दथे । यिनीहरूको बसाइँ खानेकुरा र शिकारमा निर्भर गर्दथ्यो । बसेको ठाउँमा खानेकुरा पाउन छाडेपछि अर्को वनमा बसाइँ सर्दथे । बस्नको लागि स्याउलाको छाना भएको एक पाखे घर बनाउँथे । घरको आकार परिवारको सङ्ख्याअनुसार बनाउने गर्दथे । सुकेका ठूला पात गाँसेर बिछ्याउने र ओढ्ने गर्दथे । एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्दा बस्न जाने ठाउँको माटो पातमा राखेर जोखना पनि हेर्ने गर्थे । उक्त ठाउँ उपयुक्त र राम्रो भए मात्र बस्थे । सकभर बस्ने ठाउँ मूलको पानीलाई पायक पारिएको हुन्थ्यो । बस्ने छाप्रो बनाइसकेपछि वन्यजन्तु र भूतप्रेतले दुःख नदिउन् भनेर सुरक्षित रहनका लागि मन्त्र गरेर सीमा बाँध्ने प्रचलन थियो । हाल कुसुण्डाहरू आधुनिक शैलीका घरमा बस्न थालेका छन् ।

कृषि र पशुपालन नगर्ने कुसुण्डाहरूको दिन कन्दमूल, सागपात, च्याउ र सिकारको खोजीमा बित्ने गर्दथ्यो । कुसुण्डाहरू धनुष–काँड चलाउन निपूर्ण हुन्थे । गोहोरा, कालिज र भार्सेको शिकार गर्थे । पुरुषहरूले मात्र आगो बाल्न हुन्छ भन्थे । यिनीहरू कालिज, जरायो, मृगजस्ता जनावर शिकार गरी गाउँमा अन्नबाली मकै, चामल, पिठो सँग साट्ने गर्दथे । वनमा चरा र पशुका बच्चा छोपेर गाउँलेलाई ल्याइदिने गर्दथे, तर उनीहरू आफै भने पाल्दैनथे । वनमा पाइने कन्दमूल, फलफूल, सागपात र सिकार खेलेर प्राप्त हुने मासु नै यिनीहरूको जीवननिर्वाहको मुख्य स्रोत थियो । नयाँ ठाउँमा बसाइँ सरेपछि पनि यिनीहरूको दैनिकी उस्तै हुन्थ्यो– कन्दमूलको खोजी, सागपात जम्मा गर्ने र सिकार खेल्ने ।

कुसुण्डा जातिमा सुत्केरीलाई वन तरुल र अन्न खान दिने चलन थियो । सुत्केरीलाई सागपात बाहेक अरू खान दिइन्थ्यो । बच्चा जन्मिएको ११ दिनमा न्वारान गरिन्थ्यो । बच्चाको नाडी, घाँटी र खुट्टामा धागो बाँध्ने र निधारमा टीका लगाउने चलन थियो । नाम राख्न मावली बाजेलाई बोलाउने प्रचलन थियो । कुसुण्डा जातिले भेटेसम्म आफ्नै जाति वन ठकुरी नभेटे घर ठकुरीसँग विवाह गर्दथे । विवाहमा गोहोराको मासु अनिवार्य हुनुपर्थ्यो । अहिले कुसुण्डा जातिमा केटा–केटीको अभावमा धेरैजसो अन्तर्जातीय विवाह हुन थालेको छ । अन्तर्जातीय विवाहका कारण पनि कुसुण्डाहरू घुमन्ते जीवन छाडी गाउँमा बस्न थालेका हुन् । कुसुण्डा जातिले मृत्युपछि शरीरलाई नदी वा वनको छेउमा खाडल खनी गाड्ने चलन छ । मृतकले प्रयोग गरेका धनु, काँड, जाबी, पासो, कोदालो आदि सामग्री कसैले चिहानमाथि राखिदिन्छन् भने कसैले भान्जालाई दिने गर्दछन् । तेह्र दिनसम्म क्रिया बस्ने चलन छ । क्रिया बस्नेले केरा, कन्दमूल, तरुल आदि एक छाक खाने गर्दछन् । १३ दिन पुगेपछि क्रिया बसेकाहरू चोखिन्छन् । चोखिने दिन नुन मात्र पानीमा पकाएर सबैलाई बाँडेर खाने गर्दछन् । उक्त दिन उनीहरूको जाँड, रक्सी, मासु खाने चलन रहेको छ । उनीहरू बसेको ठाउँमा कोही मरेमा अर्को ठाउँमा बसाइँसराई गर्छन् ।

अहिले कुसुण्डा जातिको मौलिक भाषा संस्कृति लोप हुने अवस्थामा पुगेको छ । कुसुण्डाको आफ्नै मातृभाषा छ । कुसुण्डा भाषा प्राचीन भाषा हो । बाक्लो बस्ती नभएको र विभिन्न ठाउँमा छरिएर बसेका कुसुण्डाहरूले आफ्नो भाषा बोल्न र लेख्न जान्दैनन् । यतिबेला कुसुण्डा भाषा मृतअवस्थामा पुग्न थालिसकेको छ । लेख्ने परम्परा नभएकोले कुसुण्डा भाषा लोप हुन लागेको हो । कुसुण्डाहरूले दैनिक जीवनमा नेपाली भाषा नै प्रयोग गर्दछन् । कुसुण्डा जाति, फिरन्ते शिकारी जीवनशैलीलाई बचाउन नसकी लोप हुने अवस्थामा पुगे । उनीहरूको सन्तानोत्पादन प्रक्रिया अर्को पुस्तामा पुग्दा दोब्बर हुन सकेन । कुसुण्डा जातिको मौलिक गुणमा भिन्नता देखा पर्‍यो र विद्यमान अन्तरजातीय वैवाहिक सम्बन्धले पृथकता पाउँदै गएको हुनाले पनि उनीहरूको मौलिकपन लोप हुन् पुग्यो । प्राकृतिक प्रकोप र जङ्गली जनावरको आक्रमणले पनि उनीहरूको सङ्ख्यामा कमी आएको मानिन्छ । उनीहरू आफ्नो जातीय समुदायसँग सङ्गठित रूपमा बसोबास नगरी गैर-कुसुण्डासँग मिश्रित रूपमा बसोबास गरेकाले आफ्नो र जातीय परम्परालाई आधुनिक समाजमा समायोजन गर्दा आफूले जानेको भाषा, संस्कार र संस्कृतिको प्रयोग नगरेकाले पनि सामाजिकीकरणको क्रममा कुसुण्डा भाषा र संस्कृति लोप हुँदै गएको हो । यतिबेला भने कुसुण्डाहरू आफ्नो भाषाप्रति जिज्ञासु रहँदै सिक्ने, सिकाउने र बोल्ने अभ्यासमा सक्रिय हुन थालेका छन् । (टीएसबीएनबाट)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।